Logo

डाङगोटे सिमेन्ट उद्योग स्थापनाको प्रक्रिया अघि बढ्यो, नोभेम्वरबाट निर्माण थालिने

डाङगोटे सिमेन्ट उद्योग स्थापनाको प्रक्रिया अघि बढ्यो, नोभेम्वरबाट निर्माण थालिने


रक्षा रेग्मी
54
Shares

काठमाडौं । डाङगोटे सिमेन्ट प्रालीले उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको छ । कम्पनीले उद्योग स्थापनाका लागि उपकरण खरिद प्रक्रिया शुरु गरेको परियोजना प्रमुख हिकमत बहादुर थापाले जानकारी दिए । ‘निर्माण सामग्री खरिदको प्रक्रिया अघि बढाएका  छौं’ उनले भने ‘आगामी नोभेम्वरदेखि निर्माण कार्य शुरु गर्ने छौं ।’

साथै जग्गाको हकबन्दी फुकुवाको प्रक्रिया समेत अघि बढेको उनले बताए ।  उनका अनुसार सिमेन्ट उद्योग सञ्चालनका लागि १ सय ५० विघा जग्गा आवश्यक पर्छ । कम्पनीले मकवानपुको भिमथलोमा उद्योग सञ्चालन गर्ने गरी कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता गरिसकेको छ ।

साथै उद्योग विभागमा उद्योग दर्ताको प्रक्रिया अघि बढी सकेको थापाले जानकारी दिए । नाइजेरियाको डाङगोटे सिमेन्ट प्रालिले उद्योग विभागमा सिमेन्ट उद्योग स्थापनाका लागि बैशाख २० गते प्रस्ताव पेस गरेको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुईटेलले जानकारी दिए । सो विदेशी लगानीकको उद्योग दर्ताको क्रममा रहेको उनले बताए ।

विभागले सो प्रस्तावित उद्योगको पूँजी प्रमाणीकरण गरेर मात्र स्वीकृत गर्ने बताइएको छ । ‘कम्पनीले खानी र सिमेन्ट उद्योग सञ्चालनका लागि एउटै पूँजी पेस गरेको थियो’ उनले भने ‘विभागले दुवैको छुट्टाछुट्टै पूँजी उल्लेख गरि प्राजेक्ट प्रपोजल पेस गर्न लगाएको छ ।’ कम्पनीले खानी र सिमेन्ट उद्योग सञ्चालनका लागि प्रस्ताव पेस गरेको हो ।
कम्पनीले छुट्टा छुट्टै प्रोजेक्ट प्रपोजल पेस गरेको अवस्थामा लगानी स्वीकृत गरिने बताइएको छ । सो कम्पनीको अन्य पक्षमा समस्या नभएकोले चाँडैनै स्वीकृतिको सम्भावना रहेको बताइएको छ ।

कम्पनीले ५४ अर्व ३१ करोड २३ लाख रुपैयाँ लगानीमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो । त्यस्तै कम्पनीले बुझाएको प्रपोजल अनुसार कम्पनीको स्थीर पूँजी ५२ अर्व ३५ करोड ५१ लाख रुपैयाँ रहेको छ । साथै चालु पूँजी १ अर्व ९५ करोड ७२ लाख रुपैयाँ रहेको बताइको छ ।

मकवानपुरमा उद्योग स्थापना गरेर सिमेन्ट उत्पादन गर्ने कम्पनीको लक्ष्य हो । कम्पनीमा शतप्रतिशत विदेशी लगानी रहेको छ । सो उद्योग सञ्चालनमा आएसँगै १ हजार जनाले रोजगारी पाउने बताइएको छ ।

कम्पनीले लगानी बोर्डबाट विदेशी लगानी स्वीकृति लिएर आएको हो । कम्पनीको मूख्य कार्यालय नाइजेरियामा रहेको बताइएको छ । लगानी बोर्डले केही समय अघि डांगोटे सिमेन्ट उद्योगलगायत अन्य ४ उद्योगलाई ८ बर्षसम्म कर छुट गर्ने निर्णय गरेको थियो ।

बोर्डले भारतको रिलायन्स सिमेन्ट कम्पनी लिमिटेड, नाइजेरियाको डाङगोटे सिमेन्ट कम्पनी, चीनको होन्सी र नेपालको शिवम् सिमेन्त तथा हुवाजिन सिमेन्ट कम्पनीलाई कर छुट गरेको हो । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यका साथ ठूला लगानीका सिमेन्ट उद्योगलाई कर छुट दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL