Logo

तीन वर्षमै कसरी सुध्रियो आयल निगम ? यस्तो छ बोनस बाड्ने योजना

तीन वर्षमै कसरी सुध्रियो आयल निगम ? यस्तो छ बोनस बाड्ने योजना


रामराजा श्रेष्ठ
54
Shares

काठमाडौं । करीब ३ वर्षअघिसम्म नेपाल आयल निगमको थाप्लोमा ३६ अर्ब रपैयाँको ऋणभार थियो । वार्षिक ३ अर्ब रुपैयाँ ब्याज नै बुझाउने गरेको थियो । भारतीय आयल कर्पोरेशन (आईओसी)लाई तिर्न पर्ने बक्यौता झण्डै ९ अर्ब रुपैयाँ पुगिसकेको थियो । त्यो ऋण, ब्याज र बक्यौताको भार निगमले मात्रै होइन उपभोक्ताले समेत बेहोर्दै आएका थिए । निगमको नाजुक आर्थिक अवस्थाकै उपज मुलुकमा समय–समयमा इन्धनको चर्को अभाव हुन्थ्यो । आन्दोलन हुन्थे ।
एकाएक समय फेरियो । यहि साताबाट निगमण ऋणमुक्त हुँदै छ । हाल निगमले ८० करोड रुपैयाँ मात्र ऋण तिर्न बाँकी रहेको छ । निगमसँग आवश्यक रकम भएको र सो ऋण पनि तत्काल तिरिने नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । हाल निगमको आईओसीमा कुनै बक्यौता छैन । मासिक झण्डै ७० करोड रुपैयाँ नाफमा छ निगम । गत आवमा मात्रै निगमले १५ अर्ब रुपैयाँ नाफा कमाएको थियो । अहिले निगमको आर्थिक  अवस्था बलियो छ । र, जुनसुकै समस्यामा समेत सहजै जुध्न सक्ने आत्मबलको विकास गरेको छ ।

आखिर ३ वर्षमै यो कायापलट कसरी भयो होला ? ऋणैऋणमा डुबेको निगम कसरी ऋणमुक्त भयो होला ? नोक्सानको जालमा बेरिएको निगम कसरी नफा कमाउने भयो होला ? यो प्रश्न सरोकारवालामा मात्रै होइन आम मानिसका मनमा समेत खेल्नु स्वभाविक हो ।

प्रवन्ध निर्देशक खड्काका अनुसार निगमले १ वर्षमै ऋण भार चुक्ता गर्न सफल भएको हो । विशेषगरी पेट्रोलियम पदार्थमा लागू गरिएको अन्तराष्ट्रिय मूल्यसँगको समायोजनले गर्दा निगम नाफामा जान सफल भएको हो । सरकारले २०७१ असोज १३ देखि स्वचालित मूल्य लागू गरेको थियो । विगत ३ वर्ष यता सुधारका काम भएपनि ऋण भार भने २०७२ को माघ पछि नै चुक्ता गरिएको उनको भनाइ छ । यसैगरी, बढी परिमाणको विक्री र निगम व्यवस्थापनमा सुधारसँगै उल्लेख्य रुपमा नाफामा आएको हो । यदि भुकम्प र नाकाबन्दी नभएको भए निगमले हालसम्म ठूलो रकम नाफाको रुपमा आर्जन गरिसक्ने उनको दावी छ ।

तर, निगमको अवस्था सुध्रदै जानुमा उसको व्यवस्थापकीय सुधार मात्रै कारण हैन बरु भाग्यले समेत साथ दिएको देखिन्छ । कुनैgopal-khadka-noc समय ग्यासँमा प्रतिसिलिण्डर १ हजार रुपैयाँसम्म नोक्सान बेहोथ्र्यो निगमले । पछि निगमको ग्यासमा हुने घाटा घट्दै मात्रै गएन प्रतिसिलिण्डर नाफा हुने अवस्था पनि आयो । अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटले निगमको नाफा बढाउँदै लग्यो । मासिक नाफा नै अर्ब हारहारी पुगेपछि निगमको आर्थिक अवस्था उच्चगतिमा सुध्रियो ।

त्यसो त निगमलाई ऋण दिने संस्थाहरु नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले साढे २ प्रतिशतसम्म ब्याजदर घटाईदिए । जसबाट निगमको ब्याजभार ४० करोड रुपैयाँसम्मले घट्यो । अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि नेपालमा तत्काल नघटाइएको, कुनै पनि प्रडक्टमा नोक्सान नहुनु, पेट्रोल, हवाई इन्धन र मट्टितेलमा उच्च नाफा हुनु र  ब्याजदर घट्नुले निगमको अवस्थालाई सुधार्दै लग्यो ।

यसबीचमा निगमले आफ्नो आन्तरिक सुधार पनि गर्यो । अझ २०७१ असोज १३ देखि लागु भएको स्वचालित मूल्य प्रणालीले निगमलाई निरन्तर नाफा दिलायो । त्यसो त ढुवानी भाडा समायोजन, चुहावट नियन्त्रणलगायतमा गरिएका प्रयासले पनि केहि भूमिका खेलको देखिन्छ । निगमलाई सरकारको १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ, नागरिक लगानी कोषको ७ अर्ब ९३ करोड रुपैयाँ,  कर्मचारी सञ्चयकोषको १० अर्ब ८५ करोड रुपैयाँ र वाणिज्य बैंकहरुको २ अर्ब ७४ करोड रुपैयाँ ऋण रहेको थियो । हाल ८० करोड वाहेक सवै ऋण चुक्ता गरिरहेको छ ।

हाल निगमले मासिक रुपमा उच्च नाफा गर्दै आएको र आगामी आवमा पूर्वाधार विकासमा केन्द्रित हुने खड्काले जानकारी दिए । आगामी आवमा इन्धन भण्डारणको लाग पूर्वाधार निर्माण, पाइपलाइन विस्तारजस्ता काम गरिने खड्काको दावी छ ।
चालू आवको लेखापरीक्षणबाट नाफा देखिएका कर्मचारीलाई बोनस समेत बाड्न सकिने खड्का बताउँछन् । ‘निगम नाफामा गएपछि कर्मचारीलाई अधिकतम ३ महिनाको तलव बरावर बोनस वितरण गर्न मिल्छ,’ उनले भने, ‘सोही अनुरुप वितरण गर्ने छौं ।’ निगमको व्यवस्थापकीय क्षमता चुस्तदुरुस्त भएको र आगामी दिनमा अझ बढी नाफा कमाउने उनको दावी छ ।

chandiनिगमका तत्कालिन प्रवन्ध निर्देशक डा. चण्डीका भट्ट भने आफु छदाँ निगममा उल्लेख्य सुधार गरेका कारण निगम यो अवस्थामा आइपुग्न सफल भएको बताउँछन् । विशेषगरी पेट्रोलियम पदार्थको स्वचालित मूल्य, ग्याँस  सिलिण्डरलाई व्यवसायीक र घरायशी प्रयोजन गरी परल मूल्यमा विक्री वितरण, रक्सौल अमलेखगञ्ज पाइपलाइन सम्झौताजस्ता महत्वपूर्ण कार्यले गर्दा निगम नाफामा जान सफल भएको हो । यसैगरी, त्यतिवेला सञ्चयकोष तथा नागरिक लगानीकोषले ऋणको व्याजदर घटाउँदा पनि निगमलाई ठूलो राहत मिलेको उनको भनाई छ । भट्टले तत्कालिन समयमा निगमको साढे ४ अर्ब रुपैयाँ ऋण भार चुक्ता गरी कोषमा समेत साढे २ अर्ब रुपैयाँ जम्मा गर्न सफल भएका थिए ।

हाल निगम नाफामा आएको र आगामी दिनमा परल मूल्यमा समान्य मात्र नाफा राखेर पेट्रोलिय पदार्थ विक्री वितरण गर्नुपर्ने उनको सुझाव छ । ‘केही समय पहिला निगमले पेट्रोलिय पदार्थमा प्रतिलिटर १०÷२० पैसा मात्र नाफा लिँदा पनि अबौं रुपैयाँ नाफा आर्जन गरेको थियो,’ उनले भने, ‘तर, हाल निगमले प्रतिलिटर ५ रुपैयाँभन्दा बढी नाफा लिँदै आएको छ ।’ अव निगमले तत्काल स्वचालिन मूल्य लागू गरेर जनतासँग लिने नाफा घटाउनु पर्ने भट्ट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्