Logo

जस्तापाता उत्पादन गर्दै जगदम्बा स्टिल, सवाँ ३ अर्ब लगानी

जस्तापाता उत्पादन गर्दै जगदम्बा स्टिल, सवाँ ३ अर्ब लगानी


रक्षा रेग्मी
0
Shares

काठमाडौं । जगदम्बा स्टिल्स प्रालिले जस्तापाता उत्पादन गर्ने भएको छ । हाल छड, तार तथा किलाकाटी उत्पादन गर्दै आएको जगदम्बा स्टिलले आगामी दिनमा जस्तापाता उत्पादन गर्न लागेको शंकर ग्रूपमा प्रवन्ध निर्देशक शाहिल अग्रवालले बताए । ‘हामीले आफ्नो क्षमतालाई विस्तार गर्दै जस्तापाता पनि उत्पादन गर्न लागेका हौं,’ उनले भने, ‘सो कार्यका लागि उद्योग विभागबाट स्वीकृति समेत लिइसकेका छौं ।’

अग्रवालका अनुसार उत्पादनका लागि विभागबाट भर्खर स्वीकृति पाएको र उत्पादन शुरु हुन केही समय लाग्ने छ । भुकम्प पछिको पुनर्निर्माणमा छड, जस्तापाता, सिमेन्टजस्ता निर्माण सामग्रीको बढी प्रयोग हुने भएकाले सोही अनुरुप उत्पादन शुरु गर्न लागेको हो । हाल कम्पनीले थप नयाँ उत्पादन तथा पूँजी विस्तार दुवैको लागि विभागबाट स्वीकृति लिइसकेको छ । हाल छड उत्पादन गर्दै आएको स्थानबाटै जस्तापाता पनि उत्पादन गर्न लागिएको उनले जानकारी दिए ।

कम्पनीले जेठको अन्तिम साता क्षमता बिस्तारको स्वीकृति लिएको उद्योग विभागले जानकारी दिएको छ । कम्पनीले पूँजी विस्तार तथा थप नयाँ उत्पादनका लागि स्वीकृति लिइसकेको छ । जस अनुसार थप नयाँ ७ वटा उत्पादन शुरु गर्ने छ ।

jadamba-steel

३ अर्ब १७ करोड लगानी

कम्पनीले जस्तापातालगायत अन्य सामग्री उत्पादनको लागि थप ३ अर्ब १७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न खालका ७ नयाँ उत्पादन बजारमा ल्याउनका लागि सो रकम लगानी गर्न लागेको हो । जस अनुसार कम्पनीले स्थिर पूँजीमा १ अर्ब २० करोड रुपैयाँ र चालू पूँजीमा १ अर्ब १६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । हाल कम्पनीले छड, तार तथा अक्सिजन उद्योगमा ८ अर्ब रुपैयाँ लगानी गरेको थियो । नयाँ उत्पादन थपसँगै कम्पनीको स्टिल उद्योगमा लगानी ११ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ ।

३ प्रकारका जस्तापाता र पाइप उत्पादन

कम्पनीले आगामी दिनमा विभिन्न ३ प्रकारका जस्ता र पाइप उत्पादन गर्ने भएको छ । जस अनुसार विभिन्न जेगको सादा जस्तापाता, सीआर सिट र रङ्गिन जस्तापाता बजारमा ल्याउन लागेको हो । बजारमा आवश्यक सम्पूर्ण प्रकारमा जस्तापाता उत्पादन गरिने समेत अग्रवालले जानकारी दिए । यसैगरी कम्पनीले आगामी दिनमा एचआर पाइप, सिआर पाइप, सटर स्प्रिङ, सटर प्रोफाइल लगायतका नयाँ उत्पादन बजारमा ल्याउने भएको छ ।

७ सय ७५ जनालाई रोजगारी

कम्पनीले थप नयाँ उत्पादन शुरु गरेसँगै ७ सय ७५ जनाले रोजगारी पाउने पाउने भएका छन् । हाल कम्पनीले स्टिल उद्योगबाट ७ सय २५ जनालाई रोजगारी दिँदै आएको र स्टिल उत्पादन शुरु भएसँगै न्युनतम ७ सय ७५ जनाले रोजगारी पाउने कम्पनीले जानकारी दिएको छ ।

विद्युत मुख्य समस्या

कम्पनीले जस्तापाता तथा पाइप उत्पादनका लागि विभागबाट स्वीकृति लिएपनि विद्युत समस्याले गर्दा कार्यान्वयनमा ल्याउन कठिन हुने अग्रवाल बताउँछन् । ‘ठूला उद्योग संचालनका लागि सोही अनुसार विद्युत चाहिन्छ,’ उनले भने, ‘तर, नेपालमा सोही अनुरुप विजुली पाउनै समस्या छ ।’ जस्ता तथा पाइप उत्पादन शुरु गरेसँगै कम्पनीलाई ७० हजार केभीए विद्युत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्