Logo

गर्मीको असर गोलभेडामा, एक महिनामै तेब्बरले बढ्यो मूल्य

गर्मीको असर गोलभेडामा, एक महिनामै तेब्बरले बढ्यो मूल्य



काठमाडौं । पछिल्लो एक महिनामै नेपाली बजारमा गोलभेडाको मूल्य तेब्बरले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा स्वदेशी गोलभेडाको मूल्य पछिल्लो समय लगातार उकालो लाग्दा मूल्य तेब्बरले बढेको हो ।

एक महिना अघि मात्रै गोलभेडाको मूल्य नपाएर सडकमै गोलभेडा फाल्ने अवस्थामा पुगेका किसानहरुले हाल मूल्य लगातार बढेपछि राहतको अनुभव गर्न पाएका छन् । करिव एक महिना अघि कालिमाटी बजारमा प्रतिकिलो ५ रुपैयाँसम्ममा गोलभेडा बेचेका रानीबारीका किसान रुपक ब्लोन मूल्य घटेका बेलाको मूल्य पनि यसबेला उठाउने मौका पाईएको बताउँछन् । तर, मूल्य बढिरहेका बेला उनिसँग आवश्यकजति गोलभेँडा भने छैन ।

बजार प्रवृत्ति जाँच्दा गएको असार १९ गतेसम्म नेपाली ठुलो गोलभेडाको मूल्य औसतमा ७५ रुपैयाँसम्म थियो । आज शुक्रबारसम्म आईपुग्दा उक्त मूल्य बढेर १ सय ७० रुपैयाँ प्रतिकिलो पुगेको छ । अर्थात नेपाली ठुलो गोलभेडाको मूल्य एक महिनाकै अवधिमा प्रतिकिलो ९५ रुपैयाँले बढेको हो । यस्तै यसै अवधिमा सानो गोलभेडाको मूल्य १५ रुपैयाँबाट बढेर ७५ रुपैयाँ र टनेलको गोलभेडाको मूल्य ३३ रुपैयाँबाट बढेर १ सय ८ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यसरी एकाएक एक महिनाकै अवधिमा गोलभेडाको मूल्य उकालो लाग्नुलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितका सूचना अधिकारी विनय श्रेष्ठ उत्पादनसँग जोडेर हेर्छन् । एक महिनाअघि नेपाली किसानसँग गोलभेडा प्रशस्तै थियो त्यसबेला मूल्य अत्याधिक घटेको थियो । तर, हाल नेपाली किसानसँग गोलभेडा नै कम भएपछि मूल्य लगातार उकालो लागेको उनको भनाई छ । ‘अहिले गोलभेडाको अफसिजन हो, एकातर्फ काठमाडौंमा काठमाडौंबाहेक बाहिरबाट गोलभेडा पनि आईरहेको छैन,’ उनले भने, ‘यसरी गोलभेडाको अभाव हुँदा यसको मूल्य लगातार उकालो लाग्दो अवस्थामा छ ।’

छिमेकी मुलुक भारतमा पछिल्लो २ महिनादेखि गोलभेडाको मूल्य उच्च वृद्धि भईरहेको छ । उच्च गर्मीका कारण गोलभेडाको बोटमा किरा लागेपछि भारतमै गोलभेडाको उत्पादन न्युन भयो र यसको मूल्य लगातार बढ्दै गएर हाल प्रतिकिलो ३ सय भारुसम्म पुगिसकेको छ ।

यहि समयमा नेपालमा पनि गोलभेडाको उत्पादन कम भएको देखिएको छ । तयसमाथि काठमाडौंमा काठमाडौं बाहिर जिल्लाबाट गोलभेडा नआएको पनि श्रेष्ठ बताउँछन् । जसका कारण अझै यसको मूल्य बढ्ने सम्भावना रहेको उनको भनाई छ । यसरी एक महिनाको तुलनामा कालिमाटी तरकारी बजारमा आउने टमाटर पनि घटेको छ ।

गत असारको १९ गतेसम्म प्रतिदिन ९० हजार किलोसम्म आउने टमाटर हाल घटेर २५ देखि ३० हजार किलोमा घटेको छ । यरी कालिमाटी तरकारी बजारमा गोलभेडा आउन छोड्दा कालिमाटी तरकारी बजारमा मात्रै होईन उपभोक्ता बजारमा पनि यसको मूल्य करिव २ सय रुपैयाँ प्रतिकिलोसम्म पुग्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL