Logo

फ्रिक्वेन्सी नीति यसै साता मन्त्री परिषदमा, फोरजी ल्याउन सहज हुने

फ्रिक्वेन्सी नीति यसै साता मन्त्री परिषदमा, फोरजी ल्याउन सहज हुने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले मौजुदा रेडियो फ्रिक्वेन्सी नीति परिमार्जनको तयारी थालेको छ । फोरजी लागु गर्ने उद्देश्यका साथ फ्रिक्वेन्सी नीति परिमार्जनको तयारी थालिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

‘फोरजीलाई लक्षित गर्दै फ्रिक्वेन्सी नीति परिमार्जन गर्न लागेका हौं’ उनले भने ‘यसै साता मन्त्रालयमा लैजाने छौं ।’ प्राधिकरणले बुझाएको मस्यौदा मन्त्रालयको फ्रिक्वेन्सी नीति निर्धारण समितिले स्वीकृत गरेसँगै नयाँ नीति लागुु हुने बताइएको छ ।

प्राधिकरणले ४ वर्ष अघि ल्याएको नीतिलाई कार्यन्वयन नै नगरी परिमार्जन गर्ने तयारी थालेको हो । डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९मा ल्याएको ‘दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाडफाड तथा मूल्य सम्बन्धी) नीति’ हालसम्म पनि कार्यान्वयन हुन सकेको थिएन ।

अर्यालका अनुसार परिमार्जन गर्न लागेका फ्रिक्वेन्सी नीति विशेषगरी फोरजीमा लक्षित छ । नीतिमा फोरजीका लागि एलसी (लेटर अफ क्रेडिट) खोल्ने, त्यस्तै फोरजीका लागि सर्भे गर्ने विषय पनि सो फ्रिक्वेन्सी नीतिको मस्यौदामा समावेस गरिएको छ ।

अर्यालका अनुसार फोरजी सञ्चालनका लागि कुन सेवा प्रदायकलाई दिने, कति ओटालाई दिनेलगायत सेवा प्रदायक छनोटको विषय पनि समावेश गरिएको छ । प्राधिकरणले न्यूट्रालिटी टेक्नोलोजी(पुरानै ब्यान्डमा नयाँ प्रविधि अपनाउन फ्रिक्वेन्सी दिने) मा फोर जी सेवा उपलब्ध गराउनु पर्नेलगायत विषय पनि परिमार्जन गरिने सो नीतिमा उल्लेख गरिने छ । टेक्नोलोजि न्यूट्रालिटिका लागि मौजुदा नीति परिमार्जन आवश्यक रहेको बताइएको छ ।

त्यस्तै थ्रीजीको गुणस्तर सुधारलगायत विषय पनि सो नीतिमा समावेश गरिने छ । अर्यालका अनुसार फोरजी सेवा दिनका लागि एनटी सी तथा एनसेल तयार भइसकेका छन् । फोरजी सेवा विस्तारका लागि भन्दै एनसेलले १५ मेगाहर्ज र टेलिकमले २० मेगाहर्ज फ्रिक्वेन्सी माग गरिसकेका छन् ।

यता प्राधिकरणले भने अहिले टुजी सञ्चालन भइरहेको १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा नै फोरजी सेवा सञ्चालन गर्न मिल्ने गरी यी कम्पनीलाई फ्रिक्वेन्सी दिने तयारी गरेको छ । प्रविधि तटस्थतामा फ्रिक्वेन्सी वितरण गर्दा दस्तुर कम हुने बताइएको छ । त्यसले गर्दा छुट्टै ब्यान्डमा फ्रिक्वेन्सी दिनुपर्ने विज्ञहरूले सुझाव दिँदै आएका छन् । हाल विश्वका धेरै राष्ट्रमा फोरजी सेवा उपलब्ध गराइएको छ । त्यस्तै छिमेकी राष्ट्र भारतले पनि फोरजी सेवा उपलब्ध गराइसकेको छ ।

नेपालमा फोरजीको प्रयोगकर्ता तथा ‘कन्टेन्ट’ नभएको भन्दै केहीले तत्काललाई फोर जी असम्भव रहेको टिप्पणी गरेका छन् । त्यस्तै फोरजी सञ्चालनका लागि आवश्यक पूर्वाधार नहुनु तथा हाल सञ्चालनमा रहेको थ्रीजी नै राम्रो सँग काम नगरेकोले पनि हाललाई नेपालमा फोर जी सम्भव नभएको उदाहरण भएको विज्ञहरुको भनाई छ । यस प्रकारको तयारीले फोरजी आउन कम्तीमा पनि १ बर्ष लाग्ने विज्ञले बताए ।

प्रतिक्रिया दिनुहोस्