Logo

अनररी कन्सुलर कप्र्सको १६ औं साधारणसभा, वाणिज्यदूतहरुको डीनमा विष्णु अग्रवाल नियुक्त

अनररी कन्सुलर कप्र्सको १६ औं साधारणसभा, वाणिज्यदूतहरुको डीनमा विष्णु अग्रवाल नियुक्त



काठमाडौं । अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) को डिनमा विष्णुकुमार अग्रवाल नियुक्त भएका छन् । चेक रिपब्लिकका अनररी कन्सुल जनरल अग्रवाल कप्र्सको १६ औं साधारणसभा तथा चार्टर डेमा आयोजित कार्यक्रममार्फत डीनमा चयन भएका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति रामसाहयप्रसाद यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कप्र्सले ठूलो योगदान पुर्याएएइको बताए । ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाई राख्नु आजको आवश्यकता हो । यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौं,’ उनले भने, ‘नेपालमा लगानीका सम्भावना भएको क्षेत्रहरु धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक छ ।’

त्यसैगरी, परराष्ट्र मन्त्री एन पी साउदले एचसीसीएनका सदस्य मुलुकहरुलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे । उनले दौत्य सम्बन्ध कायम भएका देशहरुको प्रतिनिधित्व गर्दै निस्वार्थ सेवा कार्यहरु तथा नेपालको ब्यापार तथा पर्यटन प्रवद्र्धनमा वाणिज्यदूतहरुको उल्लेखनीय भुमिका रहेको बताए । साथै आगामी दिनमा कप्र्समार्फत प्रदान गर्ने सेवालाई सहज गर्न पहल गरिने समेत उनले जानकारी दिए ।

कार्यक्रममा एचसीसीएनका डीन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेबारी निर्वाह गर्ने बताए । ‘प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तार तथा दिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीले भूमिका निर्वाह गरिरहेका छौं’ उनले भने, ‘हाम्रो जिम्मेबारी निर्वाह गर्न महत्वपूर्ण सहयोग गर्नु भएकोमा म परराष्ट्र मन्त्रालयलाई आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो निस्वार्थ सेवालाई सहज बनाउन आवश्यक सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छौं ।’

कार्यक्रममा एचसीसीएनका पुर्व डीनहरु गजेन्द्र बहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनय मान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्त राज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्र कुमार खेतान (पोर्चुगल), आङ छिरिङ शेर्पा (बेल्जियम), प्रदिप कुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड) लाई सम्मानगरिएको थियो ।

कोप्र्सका नवनियुक्त डीन सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहँदै आएका छन् । अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नती गरिएको थियो । भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् । उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वल्र्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।

साथै नवनियुक्त डीन अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मबारीलाई निर्वाह गर्ने बताए । ‘एचसीसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्दै आएको छ,’ उनले भने, ‘म परराष्ट्रमन्त्री ज्यूलाई एचसीसीएनलाई परराष्ट्र मन्त्रालयले आफ्नो महत्वपूर्ण अंगका रुपमा लिएर पर्यटन, वैदेशिक लगानी, स्वदेशी उत्पादनको प्रवद्र्धन, द्धिपक्षीय सम्बन्धको विस्तारलाई अझ बढावा दिन आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
MBL