Logo

अव रु.१० लाख माथिको सेयर कारोबारमा आयस्रोत खुलाउनुपर्ने

अव रु.१० लाख माथिको सेयर कारोबारमा आयस्रोत खुलाउनुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले रु दश लाख भन्दा माथिको रकमको सेयर कारोबारमा आयस्रोत खोल्नुपर्ने व्यवस्था गर्ने तयारी गरिरहेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार दैनिकजसो अर्बौको सेयर कारोबार हुन थालेपछि कालो धन समेत भित्रिन थालेको निश्कर्षका साथ सरकारले यस्तो तयारी गरिरहेको हो ।

जग्गा र सेयर कारोबारलाई आयस्रोत देखाएर धेरैले कालोधनलाई सेतो बनाएको सरकारलाई सूचना आएपछि यस्तो तयारीस्वरुप मन्त्रालयमा विभिन्न चरणमा वैठकसमेत भएका छन । राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, दलालहरु समेतलाई राखेर वैठक गरिसकिएको स्रोतको भनाई छ । स्रोतका अनुसार संस्थापक सेयरमा अहिले पनि आयस्रोत खोल्नुपर्ने व्यवस्था छ ।

तर साधारणतर्फको सेयर खरिदमा करचुक्ताको प्रमाणपत्र र आयस्रोतको अनिवार्य व्यवस्था गरिएको छैन । सेयर बजारलाई प्रोत्साहित गर्न साधारण सेयरको खरिदमा आयस्रोत र कर चुक्ताको प्रमाणपत्र अनिवार्य नगरिएको हो । रु १० लाखसम्मको सेयर सर्वसाधारणले खरिद गरेको मानी त्यसभन्दा बढी रकममा आयस्रोत खुलाउनुपर्ने अनिवार्य व्यवस्था गर्न लागिएको छ ।

बोर्ड सूत्रको भनाई थियो, नियमनकारी निकायको हैसियतले हामीले नै यो व्यवस्था गर्न लागेका थियौं । बजारलाई पारदर्शी र स्वस्थ बनाउन यो जरुरी पनि छ । तर ठूलो हलचल आउने अनुमान गरी यसलाई रोक्यौं । तर मन्त्रालयमा यसबारेमा गहन छलफल भैरहेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार स्रोत खुलाउनुपर्ने सम्वन्धमा सरोकारवालाहरुको नकारात्मक धारणा छैन तर हालको मूल्यमा सेयर खरिद गर्दा ठूलो रकम हुने भएकोले सीमा बढाउनुपर्ने सुझाव आइरहेका छन ।

बैंक तथा वित्तीय संस्थाहरुले दिएको कर्जाभन्दा पनि ठूलो परिमाणमा दैनिक सेयर कारोबार हुने गरेकोले यो शंकास्पद रहेको राष्ट्र बैंकको अनुमान रहेको छ । धितोपत्र बोर्डका अनुसार अहिले बजार ३ देखि ४ सय अंकले माथि गैसक्यो । यो अस्वाभाविक वृद्धि हो भन्ने बुझ्न कठिन छैन । खतरनाक पक्ष त के रहेको छ भने दैनिक अर्बौ रुपैयाँको कारोबार कसरी संभव भैरहेको छ भन्ने हो ।

बोर्डका अध्यडा डा रेवतवहादुर कार्कीले अर्थमन्त्रालयसँग भएको सम्वादबारे बोल्न चाहेनन् तर सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता दिएर बजारमा अस्वाभाविक वृद्धि देखिएको र यसबाट सर्वसाधारण लगानीकर्ताहरु मारमा पर्ने भएकोले नियन्त्रणको केही उपाय सोच्न जरुरी भएको बताइरहेका छन । बोर्डले बजारको यो वृद्धि अस्वाभाविक छ भनेर नियमनकारी निकायको हैसियतले तालुक अड्डामा बिज्ञ सुझाव दिइसकेको जनाइएको छ ।

बजारको स्वस्थ विकासको लागि साना लगानीकर्ताहरुलाई मर्का नपर्नेगरी एउटा सीमा तोकेर आयस्रोत खोल्नुपर्ने व्यवस्था आवश्यक रहेको अध्यक्ष कार्कीले बताइरहेका छन । तर बजार क्र्यास गर्न सक्ने जोखिम पनि भएको र साना लगानीकर्ताहरु फेरि मर्कामा पर्ने भएकोले यस्तो गम्भीर निर्णय लिनुअघि धेरै पक्षमा ध्यान दिनुपर्ने उनले बताइरहेका छन । बोर्डले बजारले अस्वाभाविक दिशा पक्डिएको भनेर प्रेस विज्ञप्तिमार्फत नै लगानीकर्ताहरुलाई सावधान गराइसकेको छ ।

अर्थ स्रोतका अनुसार यही ढंगले सेयर कारोबारको रकम वृद्धि हुने हो भने द्वन्द्वकालमा लुटिएको पैसा र अन्य कालोधन समेत सेयर बजारमा आउने स्पष्ट संकेतहरु देखिएका छन । तसर्थ अहिले नै स्रोत खुलाउनुपर्ने व्यवस्था गरिएन भने पछि यसले खतरनाक रुप लिने र सम्पूर्ण लगानीकर्ताहरुलाई प्रतिकूल हुने निर्णय लिनुपर्ने भएकोले सरकार अहिले नै बजार नियन्त्रणतर्फ लागेको हो । विगत एक महिनायता दैनिक १ अर्बभन्दा बढीको सेयर कारोबार हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्