Logo

यी हुन् आईएमएफका सबैभन्दा ठूला पाँच ऋणी, जोसँग छ आईएमएफको एक खर्ब डलर ऋण

यी हुन् आईएमएफका सबैभन्दा ठूला पाँच ऋणी, जोसँग छ आईएमएफको एक खर्ब डलर ऋण



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) विश्वव्यापी मौद्रिक सहयोग प्रर्वद्धन, वित्तीय स्थायित्व सुरक्षित गर्न, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, उच्च रोजगारी र दिगो आर्थिक वृद्धि प्रर्वद्धन गर्न र विश्वभर गरिबी न्यूनीकरण गर्न स्थापना भएको १९० देशहरूको संस्था हो ।

आईएमएफको उद्देश्य अन्तर्राष्ट्रिय वित्तीय स्थिरता र दिगो आर्थिक वृद्धिलाई बढावा दिनु हो । सरल भाषामा बुझ्ने हो भने आर्थिक संकटबाट गुज्रिरहेका आफ्ना सदस्य राष्ट्रहरूलाई सस्तो दरमा ऋण उपलब्ध गराउँछ, जसले गर्दा मुलुक आर्थिक संकटबाट मुक्त हुनसक्छ । यसका साथै यस संस्थाले आफ्ना सदस्य राष्ट्रहरूलाई आर्थिक स्थायित्व र विकास प्रवर्द्धन गर्न नीतिगत सल्लाह पनि दिन्छ। साथै, वित्तीय क्षेत्रमा प्राविधिक सहयोग र तालिम दिने काम पनि आईएमएफले गर्छ ।

आईएमएफले सदस्य देशहरूलाई आर्थिक सहायता प्रदान गर्दछ र जिम्मेवार खर्च सुनिश्चित गर्न सरकारहरूसँग काम गर्दछ । आइएमएफले धेरै प्रकारको ऋण दिन्छ । त्यस्तो ऋण विभिन्न देशहरूको आवश्यकता र परिस्थितिअनुरूप मागपछि आईएमएफले आफ्नो प्रावधानअनुसार प्रदान गर्दछ । आईएमएफले न्यून आय भएका देशलाई शून्य ब्याजदरमा पनि ऋण दिन्छ ।

ऋणको लागि सर्तहरू

आईएमएफले त्यसै ऋण भने दिदैन । ऋण लिने देशले विभिन्न सर्तहरू पालना गर्नुपर्छ । आईएमएफले कुनै पनि देशलाई विशेष परियोजनाका लागि ऋण दिँदैन । आईएमएफले संकटमा परेको देशको अर्थतन्त्रलाई संकटबाट बाहिर निकाल्नका लागि शर्तहरूसहित ऋण सुविधा उपलब्ध गराउँछ ।

जसमा देशले ऋण घटाउनुपर्ने, कर्पोरेट कर घटाउनुपर्ने तथा विदेशी लगानीका लागि सरकारी नियमहरू सहज बनाउनुपर्ने जस्ता शर्तहरु रहेका हुन्छन । आईएमएफले गरिब वर्गका देशहरूलाई निःशुल्क ऋण उपलब्ध गराउँछ । त्यसको उद्देश्य भनेको त्यो देश आर्थिक संकटबाट मुक्त होस भन्ने नै हो किनभने कुनै देशमा संकट आउँदा त्यसले अन्य देशलाई पनि असर गर्छ ।

यी हुन् मुख्य पाँच ऋणी

आईएमएफको तथ्यांकअनुसार अर्जेन्टिना ऋण लिनेहरूको सूचीमा पहिलो नम्बरमा छ । आईएमएफको यो दक्षिण अमेरिकी देशमा ४६ अर्ब डलर ऋण छ । इजिप्ट आईएमएफको १८ अर्ब डलर ऋणसहित सूचीमा दोस्रो नम्बरमा छ ।

युद्धग्रस्त युक्रेन आईएमएफको १२.२ बिलियन डलर ऋणीका रुपमा तेश्रो नम्बरमा छ । त्यस्तै इक्वेडर ८.२ अर्ब डलर ऋण लिएर चौथो नम्बरमा छ । पाकिस्तानको आईएमएफसँग ७.४ बिलियन डलर ऋण छ र अहिले ऋण लिनेहरूको सूचीमा पाँचौं नम्बरमा छ ।

तर, पाकिस्तान अहिले आईएमएफको चौथो ठूलो ऋणी बन्ने बाटोमा छ । पाकिस्तानले आगामी नौ महिनाभित्र आईएमएफबाट तीन अर्ब डलर ऋण पाउनेछ र पाकिस्तानको ऋण १०.४ अर्ब डलर पुग्ने छ । योसँगै पाकिस्तान इक्वेडरलाई उछिनेर आईएमएफको चौथो ठूलो ऋण लिने राष्ट्र बन्नेछ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL