Logo

नेपालपछि भारतको मन्दिरमा पनि सुन घोटालाको चर्चा, केदारनाथमा २३० किलो ‘सुनको घोटाला’

नेपालपछि भारतको मन्दिरमा पनि सुन घोटालाको चर्चा, केदारनाथमा २३० किलो ‘सुनको घोटाला’



काठमाडौं । नेपालमा पछिल्लो समय पशुपतिनाथ मन्दिरमा सुनको घोटाला भएको आरोप–प्रत्यारोप भएको समयमा हिन्दुहरुको पवित्र स्थल भारतको केदारनाथ मन्दिरमा पनि ठूलो सुन घोटालको चर्चा चलेको छ । केदारनाथ मन्दिरका वरिष्ठ पुजारी सन्तोष त्रिवेदीले मन्दिरमा सुनको ठूलो घोटाला भएको आरोप लगाएका छन् । त्रिवेदीले केदारनाथ मन्दिरको गर्भगृहको ढोका ढाक्न प्रयोग गरिएको १२५ करोड भारतीय रुपैयाँ (२ अर्ब नेपाली रुपैयाँ) सुनलाई पित्तलले बदलिएको आरोप लगाएका छन् ।

“महिना अघि (मन्दिर) सुनले सजिएको थियो, तर आज (मन्दिर) प्रवेश गर्दा सुनको सट्टामा काँसा थियो ! … १२५ करोडको सुन कहाँ गयो ! यो ठगी हो !’ त्रिवेदीले भनेका छन् । त्रिवेदीले सो क्षेत्रका दुई ठूला मन्दिरहरूको निरीक्षण गर्ने बद्रीनाथ–केदारनाथ मन्दिर समिति (बीकेटीसी) का एक सदस्य सुन हराएकोमा जिम्मेवार रहेको बताए । उनले ‘अभियुक्तलाई कारबाही नगरे मन्दिरबाट धपाउन आन्दोलन गर्ने’ घोषणा गरे ।

के के छन् आरोप र कति प्रमाण छन् ?

त्रिवेदीको आरोपले चर्चा पाएको समयमा, धेरै भिडियोहरू ट्विट देखा पर्न थालेका छन् । जसमा एक भिडियोमा केहीले मन्दिरको गर्भगृहमा ’गोल्ड वाश’ लेबल गरिएको पोलिश गरिएका बोतलहरू बोकेका छन् । यी मध्ये एक भिडियो केदारनाथका पूर्व कांग्रेस विधायक मनोज रावतले पोस्ट गरेका थिए । क्याप्सनमा उनले ‘रातमा मन्दिर बन्द हुँदा पित्तललाई सुनको पालिसले छोप्ने प्रयास भएको त्रिवेदीले बताएको’ उल्लेख गरेका छन् ।

विवादपछि उत्तराखण्डका पर्यटन मन्त्री सतपाल महाराजले सोमबार १९ जुनमा द टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा सत्यता पत्ता लगाउन अनुसन्धान भइरहेको बताए । ‘मैले मुख्य सचिव एसएस सन्धु, रुद्रप्रयाग जिल्ला मजिस्ट्रेट मयुर दीक्षित र धार्मिक मामिला सचिव हरिश चन्द सेमवालसँग कुरा गरेको छु र उनीहरूलाई यस विषयमा उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएको छु । हामी सत्य जान्न चाहन्छौं, र त्यसको आधारमा निष्कर्ष निकाल्न चाहन्छौं । थप कारबाही गरिनेछ ।’

बद्रीनाथ–केदारनाथ मन्दिर समिति (बीकेटीसी) ले चाँडै आरोपहरू बारे सम्बोधन गर्दै र यसलाई ’भ्रामक’ भनेको छ । विज्ञप्ति जारी गर्दै उसले दाताबाट प्राप्त २३ हजार ७७७ दशमलव ८ ग्राम सुन गर्भगृह सजाउन प्रयोग भएको स्पष्ट पारेको छ , जसको हालको बजार दरअनुसार मूल्य १४.३८ करोड भारतीय रुपैयाँ छ । उसले अधिकांश सजावट १ हजार १ किलो तामा प्रयोग गरी २९ लाख रुपैयाँ खर्च भएको पनि बताएको छ ।

एएनआईलाई दिएको अन्तरवार्तामा बीकेटीसीका अध्यक्ष अजय अजेन्द्रले नरेन्द्र मोदीको नेतृत्वमा राम्रो सुविधाहरू लागू भएपछि केदारनाथ मन्दिरमा आउने भक्तहरूको बढ्दो संख्याबाट असन्तुष्ट व्यक्तिहरूले ’षड्यन्त्र’ रचेको बताएका छन् । ‘दानदाताको भावनालाई यसरी अपमानित गरिएमा परोपकारी सहयोग र तीर्थस्थलमा पूर्वाधार विकासका लागि कोही अगाडि आउँदैनन् । पैसाको प्रश्न किन नगर्ने ? कांग्रेसले सधैं हिन्दू र हिन्दू मन्दिरको भावनासँग खेलवाड गर्ने प्रयास गरेको छ ।’ ’फेक न्यूज फैलाएको भन्दै कानुनी कारबाही थालिएको र कारबाही गरिने बीकेटीसीले जोड दिएको छ ।

यो थप जानकारी दिइएको थियो कि गर्भगृहको काम केन्द्रीय भवन अनुसन्धान संस्थान, आईआईटी–रुर्की र भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) का छ जना विशेषज्ञहरु द्वारा निर्देशित टोलीद्वारा गरिएको थियो । यद्यपि, त्रिवेदीले सोमबार द टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा बीकेटीसीको भनाइमा विसंगति रहेको दाबी गरे–‘गत वर्ष सुनको प्लेटिङ गर्दा २३ किलो नभई २३० केजी सुन प्रयोग गरिएको थियो ।’ सामाजिक सञ्जालमा भाइरल भईरहेको भिडियोको सत्यता वा त्रिवेदीको दाबीको आधार के हो भन्नेबारे टिप्पणी गर्न गाह्रो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL