Logo

भुकम्पले बढायो सिमेन्टमा लगानी, ४२ अर्बमा खुले ८ नयाँ उद्योग

भुकम्पले बढायो सिमेन्टमा लगानी, ४२ अर्बमा खुले ८ नयाँ उद्योग


रक्षा रेग्मी
27
Shares

काठमाडौं । भुकम्पपछिको पूर्ननिर्माणका लागि सिमेन्टको माग बृद्धि भएसँगै  सिमेन्ट उद्योग खुल्ने क्रम बढेको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि हालसम्म ८ नयाँ सिमेन्ट उद्योग दर्ता भएका छन् । ती उद्योगहरुको जम्मा लगानी ४२ अर्व ३० करोड ७९ लाख रुपैयाँ रहेको छ । जवकी अघिल्लो आवमा मेघा र रिद्धिसिद्धि दुईओटा सिमेन्ट मात्र दर्ता भएका थिए ।

त्यस्तै  गत बर्षदेखि सरकारले ३ हजार टिपीडी (टन प्रतिदिन) भन्दा तलका उद्योगहरुले प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) मात्र गरे पुग्ने व्यवस्था गरेसँगै उद्योग खुल्ने क्रम बढेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘यसअघि दैनिक १ हजार २ सय ५० टनसम्म उत्पादन गर्ने उद्योगहरुलाई मात्र आईइईको व्यवस्था गरिएको थियो,’ उनले भने, ‘आइईईको दायरा बढाएसँगै सिमेन्ट उद्योग स्थापनामा आकर्षण बढेको हो ।’

पहिला १ हजार ५० टन प्रतिदिन भन्दा बढी क्षमताका उद्योगलाई इआईए अनिवार्य गरिएको थियो । सरकारले पूर्ननिर्माणलाई लक्षित गर्दै सिमेन्ट उद्योगलाई सुविधा थप गरेको हो ।

त्यस्तै उद्योगका लागि आवश्यक विजुली तथा सडकको पहुँचलगायत पूर्वाधारको सुविधा सरकाले दिएकोले सिमेन्ट उद्योग खुल्ने क्रम बढेको हो । पूर्ननिर्माणका साथै घर तथा भवनहरु बन्ने क्रम बढेकोले पनि यसतर्फ आकर्षण बढेको बताइएको छ ।

विभागका शाखा अधिकृत रामप्रसाद लुइँटेलका अनुसार चालु आवको बैशाखसम्म दाङको सतवरियामा सञ्चालनका लागि अरनीको आबु खैरनी सिमेन्ट,कपिलबस्तुमा शुभलक्ष्मी सिमेन्ट उद्योग प्रालि, मोरङमा नेपाल अल्ट्रा टेक सिमेन्ट, नवलपरासीमा शिवम् सिमेन्टले स्वीकृति लिएका थिए ।

त्यस्तै रुपन्देहीमा अर्घाखाँची सिमेन्ट प्रालि, झापामा सनराइज सिमेन्ट प्रालि, भक्तपुरमा एण्टी सेसामिक ब्लक प्रालि र भक्तपरमा हिमालयन ब्रिक प्रालि सञ्चालनको लागि उद्योग विभागमा स्वीकृति लिएका थिए । ति उद्योगहरुबाट १ हजार २ सय १५ जनाले रोजगारी पाउने बताइएको छ । त्यस्तै यी उद्योगहरुले जम्मा ९४ लाख ७० हजार टनप्रति बर्ष पिपीसी, पिएससी, ओपिसी तथा क्लिङकर उत्पादन गर्ने छन् ।

विदेशी लगानीका दुई उद्योग

जसमध्ये चालु आवमा दुईओटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् ।  होङसी शिवम् सिमेन्ट प्रालि र अर्घाखाँची सिमेन्ट प्रालिमा नेपाली र विदेशी लगानी रहेको उनले जानकारी दिए । होङ्सि शिवम्मा  ३० प्रतिशत स्वदेशी र ७० प्रतिशत विदेशी लगानी रहेको विभागले जानकारी दिएको छ । होङ्सी सिमेन्टमा सवैभन्दा बढी ३७ अर्व ३५ करोड ५५ लाख लगानी रहेको बताइएको छ ।  त्यस्तै अर्घाखाँची सिमेन्टमा १ अर्व ९० करोडको लगानी रहेको छ । अर्घाखाँची सिमेन्टमा १७ प्रतिशत विदेशी  र ८२ प्रतिशत स्वदेशी लगानी रहेको छ ।

१ दर्जन सिमेन्ट उद्योग क्षमता विस्तारमा

आइईईको दायरा बढाएसँगै सिमेन्ट उद्योगहरुले भुकम्पपछिको पूननिर्माणलाई लक्षित गर्दै उत्पादन क्षमता समेत विस्तार गर्न थालेका छन् । चालु आर्थिक बर्षमा देशभरका करिव १ दर्जन सिमेन्ट उद्योगले क्षमता विस्तारको स्वीकृति लिएको उद्योग विभागले जानकारी दिएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार शिवम् सिमेन्ट प्रालि, घोराही सिमेन्ट, अर्घाखाँची, रिद्धिसिद्धि सिमेन्टले क्षमता विस्तारको स्वीकृति लिएका छन् । त्यस्तै गोरखकाली, मेघा, शुभलक्ष्मी, ओम, रोल्पा र मनषा सिमेन्टले पनि क्षमता तथा पूँजी विस्तार गर्न लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्