काठमाडौं । अर्थसमितिका सदस्य सांसद डा. स्वर्णिम वाग्लेले अहिले खुला अर्थतन्त्रको अभ्यास अनुरूप योग्यता र क्षमताको आधारका नयाँ ब्रोकर लाईसेन्स दिएको भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल माथि शंका गर्नुको कुनै तुक नरहेको बताएका छन्। मंगलबार अर्थसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले बोर्डले नयाँ मापदण्ड बनाएर योग्यता र क्षमता पुगेका सबै ब्रोकरलाई लाईसेन्स दिईएको छ यो बिषयमा शंका गर्नुपर्ने ठाउँ कहाँ छ,’ उनले भने, ‘यदि अहिलेको ब्रोकर लाईसेन्स वितरण प्रक्रियालाई पनि शंका गर्ने हो भने समग्र राज्यप्रणाली माथि विश्वास गर्ने ठाउँ छैन ।’ बोर्डले जुन तरिकाले लाईसेन्स दिएको छ त्यसको मापदण्ड अनुसार चेकलिष्ट तयार गरेर दिनुपर्ने उनको सुझाव छ ।
बोर्डले योग्यता र क्षमता पुगेका सबै ब्रोकरलाई लाईसेन्स दिँदा कुनै शंका गर्न नपर्ने र तत्काल ब्रोकर लाईसेन्स वितरण प्रक्रिया अघि बढाउनु पर्ने उनको भनाई थियो । ‘यदि सीमित संख्या तोकेर लाईसेन्स दिएको भए शंका गर्ने ठाउँ रहन्थ्यो,’ उनले भने, ‘तर योग्यता पुगेको सबैले पाउँदा शंकाको घेरा रहँदैन ।’
नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरणका बारेमा बजारमा ठुलो समस्या निम्तिएकाले यस बिषयमा विस्तृत अध्ययन हुनुपर्ने माग भने उनले अर्थसमितिमा राखेका छन् ।