Logo

चिनीयाँ लगानीमा अपर त्रिशुली हाइड्रो सञ्चालनको प्रस्ताव, रु.३५ अर्व ४३ करोडको लगानी

चिनीयाँ लगानीमा अपर त्रिशुली हाइड्रो सञ्चालनको प्रस्ताव, रु.३५ अर्व ४३ करोडको लगानी


रक्षा रेग्मी
54
Shares

काठमाडौं । नेपालमा जलविद्युत क्षेत्रमा बैदेशिक लगानीका लागि चिनीयाँ कम्पनीले प्रक्रिया अघि सारेको छ । चिनीयाँ लगानीको जलविद्युत आयोजना दर्ताका लागि उद्योग विभागमा प्रस्ताव आएको हो ।

हाइड्रो चाइना कर्पोरेसनले अपर त्रिशुली हाइड्रोपावर सञ्चालनको स्वीकृतिको प्रस्ताव विभागमा ल्याएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । विभागमा लगानी बोर्ड मार्फत सो प्रस्ताव आएको हो ।

सो विदेशी लगानी स्वीकृतिको क्रममा रहेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । विभागले सो प्रस्तावित आयोजनाको पूँजी बढी भएको भन्दै प्रमाणीकरण गरेर मात्र स्वीकृत गर्ने बताइएको छ । ‘कम्पनीले ठूलो लगानीमा हाइड्रोपावर बनाउन लागेकोले हाल कम्पनीलाई प्रमाणीकरणका लागि निर्देशन दिएका छौ,’ उनले भने ‘कम्पनीले विश्वासिलो स्पष्टिकरण दिएको अवस्थामा लगानी स्वीकृत गरिने छ ।’

ठूलो लगानी बाहेक कम्पनीको अन्य पक्षमा समस्या नभएकोले चाँडैनै स्वीकृतिको सम्भावना रहेको बताइएको छ ।

उनका अनुसार कम्पनीले रु.३५ अर्व ४३ करोड लगानीमा आयोजना स्थापना गर्न लागेको हो । कम्पनीले बुझाएको विवरण अनुसार कम्पनीको चालु पूँजी ६ करोड छ । त्यस्तै कुल पुँजी ३५ अर्व ५० करोड छ । सो आयोजना १ सय २ मेगावाटको हुने बताइएको छ ।

उद्योग विभागबाट स्वीकृति पाएपछि कम्पनीले आयोजना निर्माणका लागि विद्युत प्राधिकरणबाट लाइसेन्स लिनुपर्छ । अपर त्रिशुली आयोजना रसुवाको गुल्जुङ र गेल्टाङमा बनाउन लागिएको हाइड्रो चाइना कर्पोरेसनले जानकारी दिएको छ । यसमा शतप्रतिशत सो कम्पनीको लगानी रहने छ ।
कम्पनीको मूख्य कार्यलय चीनको बेइजिङमा छ ।

उद्योग विभागका अनुसार पछिल्लो समय विदेशी लगानीका ठूलो उद्योग तथा आयोजना आउने क्रम घटेको छ । भुकम्प तथा नाकाबन्दी पछि नेपालमा विदेशी लगानीका ठूला उद्योग आउने क्रम घटेको हो । तर चिनीयाँ लगानीका होटल रेष्टुराँहरु स्थापनाका लागि स्वीकृति माग्ने भने बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL