Logo

सेयर मूल्य घट्नुका यस्ता छन् ६ कारण

सेयर मूल्य घट्नुका यस्ता छन् ६ कारण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । निरन्तर बढेर लगानीकर्ताहरुलाई अपत्यारिलो खुसी दिलाइरहेको नेपालको सेयरको कारोबारमापक सूचक नेप्से साताको शुरुमै ह्वात्तै घटेर धेरैलाई चिन्तित तुल्याएको छ । आइतबार नेप्से करिव ३५ अंकले घट्यो । साताको पहिलो दिन नेप्से परिसुचक ३४ दशमलव ९८ अंकले बढेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ४ सय ८३ अंकमा झरेर अडिएको छ ।

बजेट भाषणपछि नेप्से परिसूचक ओरालो लाग्न थालेको हो । बजेटमा सेयर बजारलाई सहयोग पुग्ने नीति नआएकोले लगानीकर्ताहरु उत्साहित हुन सकिरहेका थिएनन् । बैंक तथा वित्तीय सस्था संचालनमा आएको ७ वर्ष पछि नै संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न पाउने व्यवस्थाले बजार ओरालो लागेको हो । संस्थापकहरुको सेयर ह्वात्तै बजारमा आएर आपूर्ति बढ्दा माग र मूल्य दुवै घट्ने सेयरका लगानीकर्ताहरुको विश्लेषण रहेको छ । यो विश्लेषण गरेर नै चलाख लगानीकर्ताहरुले १५ सय अंकमाथि नै आफ्नो पोर्टफोलियोको धेरैजसो सेयर विक्री गरिसकेका छन ।

एक दलालले भने, ठूला लगानीकर्ताहरुले त १२ सय नेप्से हुँदैदेखि सेयर विक्री गरिरहेका थिए । संस्थापक सेयर ७ बर्षमै साधारणमा रुपान्तरण गर्न सक्ने व्यवस्थाका लागि संस्थापकहरुले ठूलो लविङ गरिरहेका थिए । त्यसैले १० वर्षमा रुपान्तरण गर्न दिने व्यवस्था बाफियामा गरिएको हो । तर उनीहरुलाई त्यतिले पनि पुगेन र ७ बर्षमा झारिछाडे । ती दलालको भनाई थियो, ७ बर्षमै रुपान्तरण गर्न किन उनीहरु कम्मर कसेर लागे ? संस्थापकहरुको नियत के हो त ? संस्थापक सेयर एकैपटक सप्लाईमा आउँदैन भनेर लगानीकर्ताहरुलाई हामीले कसरी भन्ने ? पछिल्लो पुस्ताका बाहेक अन्य सम्पूर्ण बैंकहरुको सञ्चालन अवधि ७ बर्ष पुगिसकेको छ ।

त्यसैगरी पछिल्लो समय देखिएको प्रमुख राजनीति दलहरुबीचको सरकार परिवर्तनको खेलले पनि सेयर बजारमा ठूलो प्रभाव पारेको सम्बद्ध पक्षको भनाइ छ । सरकार परिवर्तनका लागि सत्तारुढ एमालेभित्रै असन्तुष्टि बढेको छ भने त्यसलाई विपक्षी कांग्रेसले मलजल गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि आफू तथा अन्य कमरेडहरुको कार्बाही बचाउन सरकारको नेतृत्वको दाउ हेरिरहेका छन । राजनीतिक अस्थिरताको सूचना सार्वजनिक सञ्चारका माध्यमहरुमा पनि छरपस्ट आएकोले बजारमा सेयर किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको छ ।

बजेट आउनुभन्दा पहिला बीमा क्षेत्रको सेयर मुल्य उच्च विन्दुमा पुगेकाले पनि सो समुहको सेयर ओरालो लागेको हो । बीमा सम्बन्धमा बजेट आएको नयाँ व्यवस्थाको वारेमा मुख्य लगानीकर्ताले पहिला नै थाहा पाएर बजार बढाएका थिए र बेचेर लाभ लिइसकेका थिए ।

विनाकारण बजार धेरै नै बढेकोले पनि घट्ने अवस्थामा पुगेको सेयरका विश्लेषकहरु बताउँछन । कर्जाको खुकुलो व्यवस्था पनि अव राष्ट्र बैंकले कडाई गर्ने तयारी गरिरहेको छ । अनुत्पादक क्षेत्रमा बढी लगानी भएको भन्दै केन्द्रीय बैंकले कर्जामा कडा मापदण्ड ल्याउने तयारी गरिरहेको छ । यो सूचना पनि चलाख लगानीकर्ताहरुले पाइरहेको सम्वद्ध सूत्रको भनाई रहेको छ ।

यसका साथै सेयरबाट बाहिर निस्कने यही उपयुक्त समय भएको निक्र्यौल निकाल्दै लगानीकर्ताहरुले बढी सेयर विक्रीमा ल्याएकोले पनि सेयरको सक्रिय आपूर्ति बढेको छ । पुँजीवृद्धिको चापले बैंक तथा वित्तीय संस्थाहरुले दिने प्रतिफल पनि घट्ने निश्चित छ भने सेयर बजारको उचाई चुम्ने एउटा अर्को चक्र पनि विस्तारै पूरा हुँदै गएको विश्लेषकहरुको भनाई रहेको छ । यसको असर आगामी दिनमा पनि पर्न सक्नेछ ।

दिनभर बजारमा सवैभन्दा बढी बीमा समुहकै परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक २ सय १९ अंकले ओरालो लागेको छ । यसैगरी, जलविद्युत समुह १ सय ४ अंकले घटेको छ भने सेयर बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ३५ दशमलव २१ अंकले ओरालो लागेको छ । बजारमा दिनभर १ सय २८ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ३९ करोड १७ लाख रुपैयाँ बरावरको २४ लाख २५ हजार कित्ता सेयर कारोवार भएको छ । आइतबार सिटिजन्स बैंक इन्टरनेशनलको २० करोड ९५ लाख रुपैयाँ बरावरको सेयर करोवार भएको छ । यसैगरी, सानिमाको १४ करोड रुपैयाँ बरावरको कारोवार हुँदा सिभिल बैंकको १० करोड ३६ लाख रुपैयाँ बरावरको प्रमोटर सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL