Logo

मेलम्ची पथमा त्रिभुवन विमानस्थल विस्तार योजना, अन्योलमा प्राधिकरण

मेलम्ची पथमा त्रिभुवन विमानस्थल विस्तार योजना, अन्योलमा प्राधिकरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारको म्याद सकिसक्दा पनि निर्माणकार्य भने अन्योलमै रहेको छ । स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले प्रतिबद्धता अनुसार काम नगरे पछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तार आयोजनाको काम अलपत्र परेको हो ।

निर्माण कम्पनी सान्जोसेले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सम्झौता अनुसार मार्च २०१६ सम्म विस्तारको सम्पूर्ण काम पुरा गरिसक्नुपर्ने थियो । तर, म्याद सकेको ३ महिना वितिसक्दा पनि काम हुने कुनै संकेत देखिएको छैन । हालसम्म विमानस्थलको १३ देखि १५ प्रतिशत काममात्र सकिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवानन्द उपाध्याएले बताए । सान्जोसेले २०१३ मार्चबाट काम शुरु गरेको थियो ।

गत वर्ष बैंशाखमा आएको भुकम्पसँगै रोकिएको विमानस्थल विस्तार आयोजनाको निर्माणकार्य अझै शुरु भएको छैन । हाल निर्माणका लाग ठेकदार कम्पनी नै नआएको उपाध्यायले जानकारी दिए ।

प्रतिबद्धता बमोजिमको अवधि सकिए पछि सान्जोसेबाटै आयोजनालाई निरन्तरता दिने या नदिने भन्ने सम्बन्धमा प्राधिकरणले हालसम्म कुनै निर्णय लिन सकेको छैन । जसका कारण विमानस्थल विस्तार आयोजनाको काम अलपत्र परेको हो । हाल पुरानै कम्पनीसँगको सम्झौतालाई निरन्तरता दिने वा नयाँ कम्पनीसँग सम्झौता गर्ने भन्ने विषयमा अन्यौल नै रहेको उक्त विस्तार आयोजनाका प्रमुख वावुराम पोडेलले बताए । ‘यस विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणमा छलफल भइरहेको छ,’ उनले भने, ‘प्राधिकरणको निर्णय आएपछि मात्र टुङ्गो लाग्ने छ ।’

३ वर्ष भित्र विस्तार कार्य सक्नेगरी सम्झौता गरेको सो आयोजनकोे ४ वर्ष लागिसक्दा पनि काम अघि नवढेकाले अझै केही समय अन्योलमै रहने टीआइए स्रोतले जानकारी दिएको छ । ‘हालसम्म सो विषयमा टीआइए तथा ठेकेदार कम्पनीले चासो देखाएका छैनन्,’ उक्त स्रोतले भन्यो, ‘यो विस्तार परियोजना पनि मेलम्ची आयोजना जस्तै हुने सम्भावना रहेको छ ।’ राजधानीवासीले मेलम्चीको पानी पिउन पाउनु र विमानस्थल विस्तार हुनु एकै हुने उक्त स्रोतको दावी छ । समयमै काम नसकिदा निर्माण लागत समेत बढ्न जाने बताइएको छ । उक्त आयोजना निर्माणका लागि ६ अर्ब रुपैयाँमा सम्झौता गरिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने एसियाली विकास बैंकले अन्तरराष्ट्रिय मध्यस्तकर्ता ल्याउने कुरा गरेकोले पर्ख र हेरको स्थीतमा रहेको बताएको छ । मध्यस्तकर्ता ल्याउन प्रक्रिया अघि बढीसकेको पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बताए । ‘विमानस्थलको विस्तारमा टर्मिनल भवन समेत बनाइने भनिएको छ,’ उनले भने, ‘तर, ठेकेदारले काम नगर्दा समस्या उत्पन्न भएको छ ।’

उक्त विस्तार आयोजनाको गुहेश्वरीतर्फ २० लाख घनमिटर माटो भर्ने ठाउँमा हालसम्म ५ लाख घनमिटर मात्र माटो भरेको छ । सम्झौता अनुसार कन्ट्रायक्टरले आफै माटो खोजेर उक्त खाल्डो भर्नुपर्ने हुन्छ । तर, सो खाल्डो पुर्नका लागि पशुपतिको माटो दिएमात्र काम गर्ने बताएको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै रनवे एक्स्टेन्सन मार्च सम्ममा सक्नुपर्नेमा हालसम्म खाल्डो मात्र खनेको छ । भने आइटीबी विल्डिङको हालसम्म पिल्लर मात्र खडा गरिएको छ । त्रिभुवन विमानस्थलको विस्तार एशियाली विकास बैंकको सहयोगमा बनाउन लागिएको हो । त्यसको क्न्सल्ट्यान्टिङ नेपाल सरकारले गर्नेछ ।

त्यतिवेला कन्ट्रयाक्टर छान्दा पनि लापरवाही भएका कारण काम अघि बढ्न नसकेको स्रोतको दावी छ । ‘ठेकेदार कम्पनीसँग निर्माणका लागि आवश्क आफ्नै उपकरण समेत छैन,’ उक्त स्रोतले भन्यो, ‘निर्माण सामग्री नै नभएको ठेकेदारले कसरी समयमै काम गर्न सक्छ ।’ ठेकेदारले शुरुमा पनि भाडामा उपकरण ल्याएर काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL