Logo

पुननिर्माणलाई लक्षित गर्दै १ दर्जन सिमेन्ट उद्योग क्षमता विस्तारमा, हेर्नुहोस कसको कति ?

पुननिर्माणलाई लक्षित गर्दै १ दर्जन सिमेन्ट उद्योग क्षमता विस्तारमा, हेर्नुहोस कसको कति ?


रक्षा रेग्मी
27
Shares

काठमाडौं । सिमेन्ट उद्योगहरुले भुकम्पपछिको पूर्ननिर्माणलाई लक्षित गर्दै उत्पादन क्षमता विस्तार गर्न थालेका छन् । चालु आर्थिक बर्षमा देशभरका करिव १ दर्जन सिमेन्ट उद्योगले क्षमता विस्तारको स्वीकृति लिएको उद्योग विभागले जानकारी दिएको छ ।

उद्योगहरुले भूकम्पपछि पूर्ननिर्माणका लागि सिमेन्टको मागबढेसँगै क्षमता विस्तार गर्न लागेका हुन् । त्यस्तै गत बर्षदेखि सरकारले ३ हजार टिपीडी (टन प्रतिदिन) भन्दा तलका उद्योगहरुले प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) मात्र गरे पुग्ने व्यवस्था गरेसँगै क्षमता विस्तारको स्वीकृति लिने बढेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘यसअघि दैनिक १ हजार २ सय ५० टनसम्म उत्पादन गर्ने उद्योगहरुलाई मात्र आईइईको व्यवस्था गरिएको थियो,’ उनले भने, ‘आइईईको दायरा बढाएसँगै उद्योगहरुले क्षमता विस्तार गर्न थालेको हुन् ।

१ हजार ५० टन प्रतिदिन भन्दा बढी क्षमताका उद्योगलाई इआईए अनिवार्य गरिएको र सो व्यवस्था झण्झटिलो भएकोले उद्योगहरुले कम क्षमताका उद्योग सञ्चालन गर्दै आएका थिए । महानिर्देशक न्यौपानेका अनुसार उद्योगीहरुले सरकारले दिएको सोही सुविधाको फाइदा उठाउँदै सिमेन्ट उद्योगको क्षमता विस्तार गर्न लागेका हुन् ।

उद्योग विभागको तथ्यांक अनुसार शिवम् सिमेन्ट प्रालि, घोराही सिमेन्ट, अर्घाखाँची, रिद्धिसिद्धि सिमेन्टले क्षमता विस्तारको स्वीकृति लिएका छन् । त्यस्तै गोरखकाली, मेघा, शुभलक्ष्मी, ओम, रोल्पा र मनषा सिमेन्टले पनि क्षमता तथा पूँजी विस्तार गर्न लागेका छन् ।

पूर्ननिर्माणलाई सहयोग गर्ने उद्देश्यका साथ उद्योगको क्षमता विस्तार गरिएको शिवम सिमेन्ट प्रालिका कार्यकारी निर्देशक सुरेन्द्र गोल्यानले जानकारी दिए । उनका अनुसार उद्योगले आगामी ८ देखि १० महिनाभित्र थप उत्पादन शुरु गर्ने गरि तयारी थालेको छ । उद्योग विभागका अनुसार शिवम्ले पूँजी ६ अर्व ९१ करोड पुर्याउन स्वीकृति लिएको छ । जुन हालको पूँजीको ३ गुणाभन्दा बढी हो । हाल शिवमको पूँजी १ अर्व ७० करोड छ ।

त्यस्तै उद्योगले अडिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी), पोर्टल्याण्ड पोज्जोलाना सिमेन्ट (पिपिसी) उत्पादनको क्षमता पनि बढाउने भएको छ । शिवम्ले ३ लाख ९४ हजार ६ सय मेट्रिक टन ओपिसी उत्पादन गर्दै आएकोमा क्षमता विस्तार गरेर ६ लाख २९ हजार ७ सय मेट्रिक टन पुर्याएको छ । त्यस्तै शिवमले पिपिसिको उत्पादनका लागि पनि स्वीकृति लिएको उद्योग विभागले जानकारी दिएको छ ।

उद्योगले आगामी आवदेखि १ लाख ४९ हजार १ सय ८० मेट्रिक टन सिपीसी सिमेन्ट उत्पादन गर्न स्वीकृति लिएको हो । त्यस्तै उद्योगमा ३ सय ५२ जनाले रोजगारी पाइरहेकोमा सो संख्या ६ सय १० पुर्याउन लागेको छ ।

त्यसैगरी, घोराही सिमेन्ट प्रालिले आफ्नो पूँजी झण्डै दोब्बरले बढाएर रु.७ अर्व ८४ करोड पुर्याउन लागेको छ । घोराहीको पहिला पूँजी रु.४ अर्व ५० करोड थियो । क्षमता विस्तारका लागि निर्माण कार्य शुरु गरिएको कम्पनीले जानकारी दिएको छ । उसले पनि ओपिसी र पीपीसी दुवैको उत्पादन बढाएको छ । ओपिसिमा पहिला १ लाख ५० हजार मेट्रिक टन उत्पादन गर्नेमा २ लाख १० हजार मेट्रिक टन उत्पादन गर्नेछ ।

यता घोराहीले क्लिङकर उत्पादन भने घटाउन लागेको विभागले जानकारी दिएको छ । पहिला २ लाख १७ हजार ५ सय मेट्रिक टन क्लिङकर उत्पादन गर्दै आएकोमा हाल १ लाख ८१ हजार ५ सय मात्र उत्पादनको स्वीकृति लिएको छ । त्यस्तै उद्योगले यस आव बाट २ लाख ७० हजार मेटन पिपिसी सिमेन्ट उत्पादनका लागि स्वीकृति लिएको छ ।

रिद्धिसिद्धि सिमेन्टले आफ्नो कूल पूँजी रु.७ अर्व ९९ करोडबाट बढाएर १० अर्व ७५ करोड पुर्याउने भएको छ । त्यस्तै उद्योगले ६ लाख ७९ हजार १ सय ३३ मेटन क्लिङकर उत्पादन गर्दै आएकोमा हाल क्षमता विस्तार गरी ८ लाख ४२ हजार १ सय २५ पुर्याउन लागेको हो ।

ओपिसीतर्फ ३ लाख ९२ हजार ३ सय ३५ मेट्रिक टन उत्पादन गर्दै आएकोमा क्षमता विस्तर पश्चात ४ लाख ८ ६ हजार ५ सय १४ उत्पादन गर्ने भएको छ ।
यता पिपिसी १ लाख ९७ हजारबाट २ लाख ४४ हजार २ सय ८० मेटन पुर्याएको छ भने र पिएससीमा १ लाख ९४ हजार ३ सय ५० भएकोमा हाल २ लाख ४० हजार ९ सय ९४ मेटन पुर्याएको छ । कम्पनीमा २ सय ५० जनशक्ति रहेकोमा हाल ४ सय ५० पुर्याइएको छ ।

अर्घाखाँची सिमेन्टले पनि पूर्ननिर्माणलाई लक्षित गरेर क्षमता विस्तार गर्न लागेको छ । कम्पनीको पूँजी १ अर्व १० करोड रहेकोमा बढाएर ३ अर्व पुयाउन लागेको छ । उद्योगले अडिनरी पोर्टलयाण्ड सिमेन्ट (ओपीसी ३ लाख ६७ हजार मेटन उत्पादन गर्दै आएकोमा ४ लाख ७ हजार ५ सय मेटन पुर्याएको छ । त्यस्तै कम्पनीले पिपिसी पिएससी र क्लिङकर क्रमशः ९० हजार ९० हजार र ५० हजार मेट्रिक टन उत्पादन गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL