काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा नेपालले झण्डै ३ खर्ब रुपैयाँ बराबरको इन्धन आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको बैशाखसम्मको तथ्यांक अनुसार नेपालले २ खर्ब ९१ अर्ब ७२ करोड ४६ लाख ९८ हजार रुपैयाँ बराबरको इन्धन आयात गरेको छ ।
यसअ अवधिमा नेपालले इन्धन आयातमार्फत ९३ अर्ब ९५ करोड ९६ लाख रुपैयाँ भन्सार राजस्व असुल गरेको छ । विभागको तथ्यांक अनुसार नेपालले यस अवधिमा आयात गरेको इन्धनमध्ये सबैभन्दा बढी डिजेल आयात गरेको देखिन्छ । चालु आवको १० महिनामा नेपालले १ खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ बराबरको १० लाख ८६ हजार किलोलिटर डिजेल आयात गरेको छ ।
यस्तै नेपालले ५५ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५ लाख ५९ हजार किलोलिटर पेट्रोल र ४९ अर्ब ७२ करोड रुपैयाँ बराबरको ४२ करोड ८६ लाख किलो खाना पकाउने ग्याँस आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ । चालु आवको १० महिनामा नेपालले धेरै आयात गरेको वस्तुहरुको सूचीको पहिलो स्थानमा इन्धन, दोस्रोमा फलाम र तेस्रोमा ठुलो मेशिनहरु छन् ।