Logo

सुक्खायामका कारण विद्युत माग धान्नै मुस्किल छ : कुलमान घिसिङ

सुक्खायामका कारण विद्युत माग धान्नै मुस्किल छ : कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय बर्षा नभएपछि विद्युत माग धान्नै मुस्किल रहेको बताएका छन् । आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जाडोयाममा हिउँ र पानी नपरेका कारण पर्याप्त मात्रामा विद्युत उत्पादन नभएपछि मागअनुसारको आपुर्ति गर्न नसकिएको बताएका हुन् ।

नेपालमा धेरैजसो विद्युत आयोजनाहरु रन अफ रिभर (आरओआर) परियोजना अन्तर्गतका भएकाले पानीको बहावअनुसार विजुली उत्पादन हुन्छ । तर, यसपल्ट भनेबमोजिम पानी नपरेको र सुक्खायाममा हिउँ पनि नपरेकाले पानीको बहाव झन घट्यो । जसअनुसार विजुलीको उत्पादन पनि क्षमताभन्दा कम भयो । यसैका कारण तराईक्षेत्रका विभिन्न ठुला औद्योगिक करिडोरहरुमा विजुली पुर्याउन नसकिएको उनले बताएका छन् ।

उनले अबको १५ दिनपछि भने मागअनुसार विजुली पुर्याउन सकिनेसमेत बताए । ‘अबको १५ दिनपछि मनसुन सुरु हुन्छ र पानी पर्न थाल्छ,’ उनले भने, ‘त्यसपश्चात त विजुली उत्पादन पनि बढेर मागेको जति बिजुली दिन हामी सक्छौं ।’

प्राधिकरणले जाडोयाममा नेपालका लागि अपुग विजुली भारतीय बजारबाट पनि आयात गर्ने गरेको छ । तर, यसपल्ट आयात पनि भनेबमोजिम गर्न नसकेपछि विरगंज, भैरहवा, बिराटनगरलगायत शहरका ठुला उद्योगमा बिजुली पुर्याउन सकिएको छैन । जसका कारण उद्योगी व्यवसायीहरुले प्राधिकरणले उद्योगमाथि लोडसेडिङ लादेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्