Logo

निगममा रणनीतिक साझेदार भित्र्याउन अर्थमा फाइल पेश

निगममा रणनीतिक साझेदार भित्र्याउन अर्थमा फाइल पेश


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अघि बढाएको छ । निगमको व्यवस्थापन कमजोर भएको भन्दै हाल रणनीतिक साझेदार भित्र्याउने तयारी शुरु गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । ‘हाल रणनीतिक साझेदार भित्र्याउने सम्वन्धमा अर्थमन्त्रालयमा प्रस्ताव पेस गरेका छौं,’ उनले भने, ‘अर्थबाट प्रस्ताव स्वीकृत भएर आएसँगै साझेदार भित्र्याउन ग्लोवल टेन्डर आवह्वान गर्ने छौं ।’

शुरुमा रणनीतिक साझेदार भित्र्याउने बारेमा आफु असहमत भएपनि निगम व्यवस्थापनले काम गर्न नसकेपछि बाध्य भएर प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । ‘निगमले काम गर्न सक्छ भन्ने विश्वास थियो, केही समय कुर्यौं,’ उनले भने, ‘तर, काम गर्न सक्ने नदेखेपछि साझेदारका भित्र्याउनका लागि प्रक्रिया अघि बढाइएको हो ।’ तर, रणनीतिक साझेदारलाई कति हिस्सा दिएर भित्र्याउने भन्ने विषयमा अझै छलफल जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

उनका अनुसार निगम व्यवस्थापनले तोकिएको समयभित्र पूर्ण क्षमतामा जहाज नउडाएको तथा मानव सशांधन व्यवस्थापन र नियमित सुधारका काम नगरेकोले त्यसतर्फ प्रक्रिया शुरु गरिएको हो । निगमले काम नगरेकै कारण जहाज किन्ने प्रक्रियामा समेत ढिलाई गरिएको उनको तर्क छ । ‘निगमले हाल भएका जहाजबाटै राम्रो प्रतिफल लिन सकेको छैन,’ उनले भने, ‘अर्को किनेर के काम ?’

निगमले हाल भइरहेको जहाज नचलाएसम्म नयाँ जहाज नकिन्ने मन्त्री पोखरेलको दावी छ । नेपालमा पर्यटन तथा विदेशी मुद्रा भित्र्याउनका लागि जहाज आवश्यक भएपनि जहाज मात्र थुपारेर काम नहुने उनको तर्क छ । वायु सेवा निगमले भनेको समयमा जहाज चलाउने तथा विश्वास दिलाएमा चालू आर्थिक वर्षभित्रै जहान किन्न तयार भएको उनी बताउँछन् ।

हालको व्यवस्थापनले संस्थालाई नाफामा लैजान नसकेकोले राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाउन साझेदार खोजीएको पर्यटन सचिव प्रेमकुमार राईले जानकारी दिए । ‘व्यवस्थापकले काम गर्न नसकेकोले साझेदार भित्र्याउनुको विकल्प रहेन,’ उनले भने । सरकारले यसअघि नै निगमको व्यवस्थापनमा रणनीतिक साझेदार भित्र्याउने प्रकृया अगाडि बढाएपनि पनि तत्कालका लागि रोकिएको थियो । त्यतिबेला जर्मनीको वायुसेवा लुफ्थान्सालाई रणनीतिक साझेदारका रूपमा ल्याउने तयारी गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने प्रमुख मेरुदण्डका रूपमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई थप जहाज ल्याउने विषयलाई सम्बोधन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL