Logo

लुम्विनी गुरुयोजनाका लागि रु.६ अर्व बजेट, २ बर्षभित्र सकिने

लुम्विनी गुरुयोजनाका लागि रु.६ अर्व बजेट, २ बर्षभित्र सकिने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सरकारले लुम्विनी विकास गुरुयोजनाका लागि ६ अर्व रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक बर्षमा लुम्विनीको गुरुयोजना सम्पन्न गर्नका लागि सो बराबर बजेट प्रस्ताव गरेको हो ।

बजेटमा सो प्रस्ताव सम्वोधन हुने निश्चित भएको पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । लुम्विनी गुरुयोजना चाँडै नै सम्पन्न गर्ने उद्देश्यका साथ आवश्यक बजेट छुट्याइएको उनले जानकारी दिए । उनका अनुसार सो गुरुयोजना आगामी २ बर्षभित्र सम्पन्न गरिने छ ।

लुम्विनी विकास गुरुयोजनाका ७० प्रतिशत काम सम्पन्न भएपनि बजेट अभावका कारण अन्य काम अघि नबढेको लुम्विनी विकास कोषमा प्रमुख सम्पर्क अधिकृत ज्ञानिन राइले  जानकारी दिए । उनका अनुसार पवित्र उद्यान, लिंक पोन्ड, पार्किङ, कार्यालय, सेन्ट्रल क्यानललगायतका काम सम्पन्न भइसकेका छन् ।

बुद्धको जन्मथलो विकास तथा प्रचारप्रसारका लागि लुम्विनी विकास गुरुयोजना (केन्जु ट्यागे) सन १९८७ अर्थात २०४२ सालदेखि शुरु गरिएको हो । शुरु भएको ३० वर्ष वितिसक्दा पनि उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गुरुयोजना घोषणा गरिएको ८ वर्षमा अर्थात १९८५ मा पहिलो चरणको काम सक्ने योजना बनाइएको थियो । त्यस्तै दोश्रो चरणमा सन १९९५ मा काम सकिनुपर्ने भनिएपनि हालसम्म पनि सो गुरुयोजनाको काम सकिएको छैन । गुरु योजनाका पूर्वाधार निर्माणार्थ बजेट अभावका कारण काम नभएको बताइएको छ ।

सरकारले सो गुरुयोजनाका लागि बार्षिक ५५ करोड बजेट उपलब्ध गराउदै आएको छ । उक्त आयोजना संयुक्त राष्ट्र संघको सहयोगमा अघि सारिएको थियो । राईका अनुसार पवित्र उद्यान क्षेत्र भित्र करिव रु. ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ । शान्ति दीप र परिक्रमा पोखरी जोड्ने दुइवटा पोखरी र त्यसको छेउंमा आकर्षक मिनि पर्यटक सूचना केन्द्र बन्दैछ । यसलाई सिम्वोलिक पेभिलियन वा विश्राम घर समेत भनिएको छ ।

पूर्वी विहार क्षेत्रमा १३ वटा मूलुकहरुले आकर्षक विहारहरुको निर्माण पुरा गरेका छन् । पश्चिमी विहार क्षेत्रमा विहार निर्माणका काम जारी छन् । सो क्षेत्रमा प्रतिवद्धता व्यक्त गरेका २९ मध्ये २६ वटा मुलुकहरुले विहार निर्माण गरिरहेका छन् । विहार क्षेत्रमा केन्द्रीय नहरको दायाँबाया अत्याधुनिक सुविधासम्पन्न चार वटा शौचालय बन्नेछन् ।  बसपार्कमा थप एउटा शौचालय बन्नेछ ।

पवित्र उद्यान क्षेत्रभित्र करिव ७० लाख रुपैयाँ लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ । पर्यटकका लागि खानेपानी, शौचालय र विश्राम केन्द्रहरुको ब्यवस्था यो पेभिलियनमा गरिएको छ ।

लुम्विनी गुरुयोजना क्षेत्रभित्र मात्रै यस्ता ८ वटा पेभिलियन बन्नेछन् । एउटा पेभिलियन निर्माणका लागि साढे ३ करोड रुपैयाँ लाग्ने अनुमान छ । जापानी वास्तुकलाविद प्रोफेसर केन्जो ट्यागेले सन् १९७८ मा बनाएको लुम्विनी गुरुयोजना पुरा गर्न सरकारले लुम्विनी विकास कोषमार्फत काम गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL