काठमाडौं । नेपालमा गएको मार्च महिनामा ९९ हजार ४ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन् । हालै अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो महिना नेपालमा उक्त संख्यामा पर्यटकहरु हवाईमार्गबाट आएका हुन् ।
विभागको तथ्यांकलाई आधार मान्दा नेपालमा गत बर्षको यही अवधिमा ४२ हजार ६ जना र अघिल्लो बर्ष २०२१ मा १५ हजा २ सय ५४ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
गएको महिनामा नेपाल आएका पर्यटकहरुमध्ये सबैभन्दा बढी भारतीय छन् । विभागको तथ्यांक अनुसार गत महिना भारतबाट मात्रै २५ हजार ९ सय ११ जना पर्यटक हवाईमार्गबाट नेपाल आएका हुन् । यस्तै यसै अवधिमा अमेरिकाबाट ९ हजार ५ सय ५७, बेलायतबाट ६ हजार १ सय ३३, जर्मनीबाट ४ हजार १ सय ४९ र श्रीलंकाबाट ३ हजार ८ सय ९८ जना पर्यटक भित्रिएका छन् ।
यस्तै यसै अवधिमा नेपालमा थाईल्याण्डबाट ३ हजार ८ सय २९, अष्ट्रेलियाबाट ३ हजार ६ सय ३५, फ्रान्सबाट ३ हजार ९, चीनबाट २ हजार ६ सय ३५ र दक्षिण कोरियाबाट २ हजार ६ सय ३९ जना पर्यटक नेपाल घुम्न आएका छन् ।
यता मार्च महिनामै नेपालबाट भने ९० हजार १ सय १४ जना हवाईमार्गको बाटो हुँदै बाहिरिएका छन् ।