Logo

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हप्ताको दुई दिन विदाको प्रस्ताव

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हप्ताको दुई दिन विदाको प्रस्ताव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक घुमफिर तथा भ्रमण बर्षलाई सफल बनाउन हप्ताको २ दिन विदा दिने तयारी गरिएको छ । संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रवार र शनिवार गरी हप्तामा २ दिन विदाको प्रस्ताव गरेको हो ।

दुई दिन विदा दिन मन्त्रि परिषद्मा प्रस्ताव लगिएको सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलले बताए । ‘हप्तामा अन्य दिनको कामको समय बढाएर २ दिन विदाको प्रस्ताव गरेको छु,’ उनले भने, ‘निणर्य आउन बाँकी छ ।’ त्यस्तै कर्मचारीलाई देशभित्र घुम्नका लागि सुविधा समेत उपलब्ध गराउने लागेको उनले जानकारी दिए । मन्त्री पोखरेलका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कर्मचारीलाई विशेष सुवधा प्रदान गर्न लागिएको हो ।

पोखरेलका अनुसार सवै निर्वाचन क्षेत्रमा कम्तिमा एउटा कार्यालय स्थापना गरेर पर्यटनको प्रवद्र्धन गरिने छ । त्यसैगरी, प्रत्येक गाउँ विकास समिति तथा जिल्ला विकास समितिलाई पर्यटन प्रवद्र्धनका लागि परिचालन गरिने उनले जानकारी दिए ।

आन्तरिक घुमफिर बर्षमा विशेषगरी धार्मिक पर्यटनलाई जोड दिइएको छ । सोहि योजना अनुरुप लुम्विनीमा बौद्ध सम्मेलन समेत आयोजना गर्न लागिएको छ । गौतम बुद्धको जन्मस्थल नेपालमा भएको भन्ने सन्देश फैलाई आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षण गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको मन्त्री पोखरेलले जानकारी दिए ।

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकारी कार्यालयलाई समेत परिचालन गर्ने तयारी गरेको छ । त्यसैगरी पर्यटन विकस तथा पूर्वाधार निर्माणमा विशेष ध्यान दिइने भएको छ ।

पोखरेलका अनुसार यस बर्ष कम्तिमा २० लाख आन्तरिक पर्यटक पुर्याउने उद्देश्य छ । सरकारले पर्यटन बोर्डसँगको सहकार्यमा २०७३ साललाई घुमफिर वर्षको रुपमा मनाउने घोषणा गरेको हो ।

घुमफिर वर्ष घोषणासँगै आन्तरिक पर्यटकहरुका लागि प्याकेज, गन्तव्य तथा सुविधाहरु समेत उपलब्ध गराइने बताइएको छ । नेपाल सरकारले यस अघि सन् २०११ लाई नेपाल पर्यटन वर्षको रुपमा मनाएको थियो । सो अभियान भने बाह्य पर्यटकलाई लक्षित गरिएको थियो ।

आन्तरिक घुमफिर बर्षले नेपालका विभिन्न स्थानका पर्यटकीय स्थलको प्रवद्र्धन तथा टेवामा थप टेवा पुग्ने बताइएको छ । सानो प्रयासबाट ठूलो प्रभाव पार्न सकिन्छ भनेर नेपालको पर्यटन क्षेत्रको विकासमा लागेको सरोकारवालाहरु बताउँछन् । भुकम्पले नेपालको पर्यटन क्षेत्रलाई शिथिल बनाएको भन्दै यस क्षेत्रलाई उकास्न कार्यक्रम घोषणा गरिएको हो ।

त्यस्तै आन्तरिक पर्यटनलाई विश्वमा पुर्याउन कुनै पनि कसर बाँकी नराख्ने मन्त्री पोखरेलले बताए । सो अभियान प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जालमार्फत प्रचारप्रसारका लागि ह्यासट्याग समेत राखेको छ । बोर्डले सामाजिक सञ्जालमा #ghumphir year 2073 नामको अभियान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL