Logo

भुकम्पको १ बर्षपछि पनि अन्यौलमा त्रिशुली थ्री ए

भुकम्पको १ बर्षपछि पनि अन्यौलमा त्रिशुली थ्री ए


रक्षा रेग्मी
0
Shares

काठमाडौं । भुकम्प गएको १ बर्ष वितिसक्दा पनि माथिल्लो त्रिशुली थ्री एको निर्माण कार्य भने अन्यौलमा परेको छ । गत बैशाखमा गएको भुकम्पले आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग विग्रिएपछि ६० मेगावाट क्षमता रहेको उक्त आयोजनाको काम ठप्प भएको थियो ।

गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीले रोकिएका अन्य आयोजनाको काम तिव्र रुपमा अघि बढ्दा पनि त्रिशुली थ्री एको काम अघि बढ्न सकेको छैन । हाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्र रुपमा अगाडि बढेको छ ।

यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोसीको काम पनि अगाडि बढिसकेको छ । तर, त्रिशुली थ्री एको भने कुनै काम अघि बढेको छैन ।

आगामी जुनसम्ममा सकिने भनिएको आयोजनाको निर्माण पहुँचमार्ग निर्माणको काम नसकिएकोले सुचारु हुन नसकेको नेपाल विद्युत प्राधिकरणका नायव प्रवन्ध निर्देशक शेरसिंह भाटले जानकारी दिए । ‘आयोजनाको पहुँच मार्गमध्ये पाँच किलोमिटर सडक भूकम्पका कारण नामनिसाना नै छैन,’ उनले भने, ‘सो मार्ग नबनि आयोजनाको काम सुचारु गर्न सकिदैन ।’

उनका अनुसार हाल नेपाली सेनाले पहुँचमार्ग निर्माणको काम शुरु गरेको छ । पहुँचमार्ग बनेपछि पुन अध्ययन गरेर मात्र निर्माण कार्य शुरु गरिने भएको छ । भुकम्पले पुर्याएको क्षतीको बारेमा अध्ययन गरेर मात्र निर्माण शुरु गरिने उनको भनाइ छ ।

उनका अनुसार बषार्तको समय आउन लागेकोले काम अझै लम्विन सक्ने उनले छ । त्यस्तै प्रसारण लाइनको काम पनि सुस्त गतिमा अघि बढेको भाटले जानकारी दिए । आयोजना निर्माणका लागि चिनियाँ ठेकदार काम गर्न तयार भएपनि सडकको अभावमा बाँधस्थलसम्म पुग्न समस्या भएको उनले बताए ।

निर्माणाधीन त्रिशुली थ्री ए आयोजनाको ७५ प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको छ । आयोजनाको बाँध र सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेपनि भुकम्प पछि काम अघि नबढेको हो ।

आयोजना चीनको एक्जिम बैैंकको १ दशमलव ७५ प्रतिशत सहुलियत ब्याज दरमा ८९ मिलियन अमेरिकी डलर अर्थात् नेपाली साढे १० अर्ब रुपैयाँको ऋण सहयोगमा निर्माण भइरहेको हो । तर, निर्माणमा ढिलाई भएसँगै आयोजनाको लागत खर्च बढ्ने अनुमान गरिएको छ । आयोजनाले डाडाँगाउँको मैलुङ नजिकबाट बाँध बाँधेर ४ हजार ९३ मिटरको सुरुङबाट नुवाकोटको मनकामना अर्चले नजिक पावर हाउस निर्माण गर्दैछ । त्यस्तै आयोजनाको भूमिगत विद्युतगृह निर्माणको काम पनि सुरु भइसकेको थियो । जुन भुकम्प पछि ठप्प छ ।

जून २०११ मा निर्माण सुरू भई ३५ महिनाभित्र आयोजना सक्नुपर्ने सम्झौता भएको थियो । विभिन्न प्रकारका विवादले गर्दा काम अघि नबढेपछि आयोजनाको म्याद थप गरी सन् २०१६ को जून ३० सम्म आयोजना सम्पन्न गर्ने सम्झौता भएको थियो । म्याद थप भएसँगै गेजुवाले आयोजना निर्माणको काम तीव्र बनाएकाले आयोजनाको काम समयमै सकिने आंकलन गरिएको थियो । तर भुकम्पले सो आंकलनलाई गलत सावित गरिदिएको छ ।

आयोजना निर्माणका लागि नेपाली र चिनियाँ दक्ष र अदक्ष गरी ६ सयभन्दा धेरै कामदार परिचालन गरिएको थियो । विद्युत निकासाका लागि ४८ किलोमिटर लम्बाइको २ सय २० केभि डबल ट्रान्समिसन लाइनबाट विद्युत गृहदेखि मातातीर्थ सवस्टेशनसम्म निर्माण गरिने बताइएको छ ।

आयोजनाको हाइड्रो मेकानिकलको काम पनि ५० प्रतिशत पूरा भइसकेको थियो । आयोजनाबाट बार्षिक कुल ४ सय ८९ दशमलव ७६ गीगावाट प्रतिघण्टा हुनेछ । जसमध्ये ४ सय ६० दशमलव ४ गीगावट प्रतिघण्टा विजुली प्रतिबर्ष उपभोग गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्