Logo

फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बन्दै एलन मस्क, एकैदिन कमाए ४.४२ बिलियन डलर

फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बन्दै एलन मस्क, एकैदिन कमाए ४.४२ बिलियन डलर



काठमाडौं । टेस्ला, ट्विटर र स्पेसएक्सका सीईओ एलन मस्क फेरि एक पटक विश्वका धनी व्यक्तिहरूको सूचीमा शीर्ष स्थान नजिक पुगेका छन् । यो वर्ष उनको नेटवर्थमा कीर्तिमानी वृद्धि भएको छ । यो वर्ष टेस्लाको मूल्य ७० प्रतिशतले बढेसँगै मस्कको नेटवर्थमा उछाल आएको छ ।

ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधबार मस्कको कुल सम्पत्ति ४.४२ बिलियन डलरले बढेको छ । अहिले उनको कुल सम्पत्ति १९१ अर्ब डलर पुगेको छ र उनी विश्वका धनीहरुको सूचीमा दोस्रो स्थानमा छन् । फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट १९२ अर्ब डलरको सम्पत्तिका साथ यो सूचीमा पहिलो नम्बरमा छन् । अर्नाल्ट र मस्कको नेटवर्थमा एक अर्ब डलर मात्र फरक छ । यस वर्ष, मस्कको कुल सम्पत्ति ५४.२ बिलियन डलरले बढेको छ, जबकि अर्नाल्टको कुल सम्पत्ति २९.९ बिलियनले बढेको छ । सन् २०२१ को अन्त्यसम्ममा मस्कको कुल सम्पत्ति ३०० अर्ब डलर पुगेको थियो ।

यसैबीच, गौतम अडानीको नेटवर्थमा गिरावट आउने क्रम जारी छ । बुधबार यो १.०३ बिलियन डलरले घट्यो । यो वर्ष उनको नेटवर्थ ७०.१ अर्बले घटेर अहिले ५०.४ अर्ब डलरमा झरेको छ । गत वर्ष अडानीको कुल सम्पत्ति सबैभन्दा बढी ४४ अर्ब डलर पुगेको थियो । तर यसपटक उनले वर्षको पहिलो डेढ महिनामा आधाभन्दा बढी नेटवर्थ गुमाएका छन् । २४ जनवरीमा नेगेटिभ रिपोर्ट आएपछि अडानी समूहको सेयरमा भारी गिरावट आएको छ ।

अर्कोतर्फ, भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी एकपटक फेरि धनीहरूको सूचीमा शीर्ष १० मा प्रवेश गरेका छन् । बुधबार उनको कुल सम्पत्ति १.८१ अर्ब डलरले बढेको छ । उनी ८३.३ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १० नम्बरमा छन् । तर, यो वर्ष उनको कुल सम्पत्ति ३.७७ बिलियन डलरले घटेको छ । एसियाका धनीहरुको सूचीमा अम्बानी पहिलो नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL