Logo

टेलियासोनेराले भन्यो कर तिर्दैनौं, आफ्नो कारोवारलाई नेपालको कानुनले नछुने दावी

टेलियासोनेराले भन्यो कर तिर्दैनौं, आफ्नो कारोवारलाई नेपालको कानुनले नछुने दावी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी टेलियासोनेराले नेपालमा कर नतिर्ने बताएको छ । कम्पनीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै कर नतिर्ने कुरा दोहोर्याएको हो । विज्ञप्तिमा नेपालको कर कार्यालयबाट पुनः सूचना आएको भन्दै आफ्नो अडान जारी राख्ने जानकारी दिएको छ । ‘करको विषयमा कम्पनीको मान्यता परिवर्तन भएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।

साथै टेलियासोनेराले नर्वेली सहायक कम्पनीलाई पत्रको जवाफ पठाउन निर्देशन दिने समेत विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आफ्नो कारोवार नेपालको करको विषयसँग सम्वन्धित नरहेको समेत दावी गरेको छ । कम्पनीले नेपालको कारोवार करको दायरभित्र नपर्ने भन्दै कर तिर्न अटेर गर्दै आएको विज्ञप्तिमा प्रष्ट्याएको छ ।

एनसेलको ८० प्रतिशत सेयर डेढ खर्बमा विक्री हुँदा नेपालले २५ प्रतिशत कर पाउनुपर्ने थियो । यससँगै नेपालले सो वापत पाउने गुम्ने जोखिम बढेको छ । एक हप्ताअघि जारी विज्ञप्तिमा टेलियासोनेराले नेपालको कर कार्यलयबाट खरिद विक्रीका विषयमा जानकारी दिन अनुरोध मात्र आएको उल्लेख गरिएको थियो ।

कम्पनीले स्विडिश पत्रिकामा प्रकाशित समाचारको खण्डन गर्दै नेपालले पठाएको पत्रमा करको दावी नगरेको बताएको थियो । सो पत्रिकाले ठूला करदाताको कार्यालयका प्रमुख शोभाकान्त पौडेलको भनाईसहित समाचार प्रकाशित गरेपछि टेलिया बोलेको थिएन । बुधवारको विज्ञप्तिमा नेपालको अर्को चिठी आएको उल्लेख छ ।

साथै सो चिठीमा ट्याक्स तिर्नका अनुरोध र एनसेलको सेयर कारोवार वापतको कर डिपोजिट गर्नुपर्ने दावी भएको उल्लेख गरिएको छ । एनसेलको स्वामित्व टेलियाले मलेसियाली कम्पनी एक्जियटालाई विक्री गरिसकेको छ । तर, नेपालमा कानुनी रुपमा हस्तान्तरण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्