Logo

मोवाइल जामरको नियमन गर्दै प्राधिकरण, कमिटिले बुझायो अध्ययन प्रतिवेदन

मोवाइल जामरको नियमन गर्दै प्राधिकरण, कमिटिले बुझायो अध्ययन प्रतिवेदन


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोवाइल जामर’को नियमन गर्न गृहकार्य थालेको छ । भीभीआईपीको कार्यालय तथा अत्यावश्यक स्थान बाहेक अन्य क्षेत्रमा पनि मोवाइल जामरको प्रयोग भएको गुनासो आउने थालेपछि नियमन बारे कार्यविधि नै बनाउन लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

‘पछिल्लो समय सामान्य अवास्थामा पनि मोवाइल जामर प्रयोग भएको गुनासो आउन थालेको छ,’ उनले भने, ‘त्यसैले ‘सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर नियमनको गर्न लागेका हौं ।’

अर्यालका अनुसार आपराधिक क्रियाकलापमा पनि प्रयोग मोवाइल जामरको प्रयोग हुनसक्ने भएकोले यसको आवश्यकता महशुस गरिएको हो । प्राधिकरणले कार्यविधि तयार गरि सिफारिसका लागि सञ्चार मन्त्रालयमा पठाउने तयारी गरेको अर्यालले जानकारी दिए । कार्यविधिमा मोवाइल जामरको विक्री वितरण तथा कुन अवस्थामा कसरी जडान गर्ने भन्ने लगायतका विषयवस्तु समेटिएको छ ।

हालै गृह मन्त्रालय र सञ्चारमन्त्रालय सहितको टोलीले मोवाइल जामर सम्वन्धी अध्ययन प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनका आधारमा कार्यविधि तयार गर्न लागेको उनले जानकारी दिए ।

विशेषगरी राष्ट्रपति, प्रधानमन्त्री तथा उच्च स्तरीय व्यक्तित्वको कार्यलयका साथै सवारीका बेलामा यसको प्रयोग हुदै आएको छ । त्यस्तै हाल सर्वोच्च अदालतमा पनि मोवाइल जामरको प्रयोग गरिएको छ । मुद्दा सुनुवाइ हुने स्थानबाट गोप्य सूचना बाहिर नजाओस भन्ने उद्देश्यका साथ जामर प्रयोग गरिएको हो । त्यस्तै कैदीहरु भएको स्थानमा पनि यसको आवश्यकता महशुस गरिएको छ ।

पछिल्लो समय विभिन्न विद्यालय तथा क्याम्पसहरुले पनि कक्षा कोठामा मोवाइल जामर प्रयोग गर्न प्राधिकरणमा स्वीकृति माग्ने क्रम बढेको छ । तर मोवाइल जामर अत्यावश्यक अवस्थामा मात्र प्रयोग गरिने भएकोले प्राधिकरणले स्वीकृति दिएको छैन ।

मोवाइल फोन आधारभुत आवश्यकता भएकोले पनि विद्यालय तथा अन्य कार्यलयमा मोवाइल जामर प्रयोगको स्वीकृति नदिएको प्रवक्ता अर्यालले जानकारी दिए । मोवाइल सर्भिसलाई जसले पायो त्यसले रोक्दा मानव अधिकार हनन हुने भन्दै स्वीकृति नदिएको बताइएको छ ।

के हो मोवाइल जामर ?

मोवाइल जामर एक प्रकारको डिभाइस हो । यसले आफ्नो वरपरका मोवाइल नेटवर्कलाई मोवाइल फोनसम्म जानबाट रोक्छ । विशेषगरी उच्चपदस्थ व्यक्तित्वहरुको सुरक्षाका लागि मोवाइल जामरको प्रयोग गरिँदै आएको छ । यसलाई मोवाइल फोनको सञ्चार अवरुद्ध बनाउन प्रयोग गरिन्छ ।

नेपालमा सार्क सम्मेलनको समयमा मोवाइल जामरको प्रयोग गरिएको थियो । कतिपय राष्ट्रहरुमा मोवाइल जामरको आयात र विक्री अवैधानिक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL