Logo

तङग्रीन थाल्यो अटो बजार, ८ महिनामा डेढ लाख सवारी साधन विक्री

तङग्रीन थाल्यो अटो बजार, ८ महिनामा डेढ लाख सवारी साधन विक्री


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । भुकम्प तथा नाकाबन्दीका कारण सुस्ताएको अटो बजार विस्तारै बढ्न थालेको छ । नाकाबन्दी खुलेसँगै सवारीसाधन विक्री दर बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

चालू आवको ८ महिनामा झण्डै १ लाख ४८ हजार सवारी साधन विक्री भएको छ । पहिलो ४ महिनामा उच्च रुपमा गिरावट आएको सवारी विक्री पछिल्लो समय बढेको विभागको तथ्याङ्कले देखाएको छ । पहिलो चौमास अर्थात दशै तिहारको सिजनमा जम्मा ५९ हजार वटा सवारीसाधन विक्री भएको थियो । तर, दोस्रो चौमासमा झण्डै ९० हजार वटा सवरीसाधन विक्री भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नाकाबन्दी पश्चात भारतबाट सवारीसधान भित्रने क्रम बढेकाले विक्री बढ्न गएको नेपाल अटोमोवाइल डिलर्श एशोसियशनका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘नकाबन्दीको समयमा ग्राहकले किन्न आएपनि व्यापारीसँग बेच्नका लागि सामान थिएन,’ उनले भने, ‘तर, नाकाबन्दी खुलेसँगै नाकाबाट सवारीसाधन आउने क्रम बढेको छ ।’

यस्तै नाकाबन्दी खुलेसँगै आर्थिक क्षेत्र चलायमान हुनुका साथै बैंक व्याजदर सस्तो भएकाले पनि सवारीसाधन किन्नेको चाप बढेको श्रेष्ठ बताउँछन् । ‘पछिल्लो समय अटो व्यवसायीले विभिन्न खालका स्किम निकालेका छन्,’ उनले भने, ‘स्किमका कारण पनि सवारीसाधन विक्री बढ्न गएको छ ।’

पछिल्लो समय सवारीसधान विक्रीदर बढेपनि गत आवको साही अवधिको तुलनामा भने केही कम भएको तथ्याङ्कले देखाएको छ । गत आवको दोस्रो चौमासमा कुल १ लाख ६९ हजार सवारीसाधन विक्री भएको थियो । तथ्याङक अनुसार गत आवको तुलनामा १२ प्रतिशत कम सवारीसाधन विक्री भएको छ ।

चालू आवको ८ महिनामा सवैभन्दा बढी २ पाङ्ग्रे सवारीसाधन विक्री भएको छ । सो अवधिमा १ लाख २३ हजार भन्दा दुईपाङ्ग्रे सवारीसधान विक्री भएको विभागको तथ्याङ्कमा उल्लेख छ । तर, यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा १९ हजारले कम हो । अधिल्लो आवको सो अवधिमा १ लाख ४२ हजार भन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन विक्री भएको थियो ।

सो अवधिमा क्रेन डोजर एक्साभेटर तथा ट्रक विक्री समेत घटेको छ । भुकम्प तथा नाकाबन्दीका कारण पूर्वाधार विकासका काम अघि बढ्न नसकेकाले त्यस्ता सवारीसाधनको विक्रीमा कमि आएको हो । चालू आवको फागुनसम्ममा कुल १ हजार ७ सय ४५ वटा त्यस्ता सवारीसाधन विक्री भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७ सयले कम हो ।

सो अवधिमा २ हजार १ सय वटा ठूला वस विक्री भएको छ भने १ हजार वटा मिनीवस तथा मिनी ट्रक विक्री भएको विभाको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सो अवधिमा ३ हजार ७ सय ३४ वटा पिकअप गाडी विक्री भएको छ ।

अघिल्लो वर्षको तुलनामा अन्य सवारीसाधनको विक्री घटेपनि तर, कार÷जिप तथा भ्यान विक्री भने बढेको छ । अघिल्लो आवको सो अवधिका कुल ९ हजार ५४ वटा विक्री भएकोमा चालू आवको सोही अवधिमा १० हजार ८ सयभन्दा बढी विक्री भएको छ । विशेषगरी व्यवसायीक क्षेत्रका व्यक्तिले त्यस्ता सवारीसधान किन्ने क्रम बढेको सम्बद्ध यातायात व्यवसायीहरु बताउँछन् ।

८ महिनामा विभागले ७ अर्ब ५० करोड रुपैयाँभन्दा बढी सवारी राजस्व उठाएको छ । जसमध्ये ४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ सवारी साधन कर संकलन गरेको छ भने अन्य गैर सवारीकर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्