Logo

नेप्से तगारो बन्दा धितोपत्र दलाल कमिशन घटाउने प्रक्रिया अन्योलमा

नेप्से तगारो बन्दा धितोपत्र दलाल कमिशन घटाउने प्रक्रिया अन्योलमा


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि धितोपत्र दलालको कमिशन घटाउने प्रक्रिया शुरु गरेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । बोर्डले सो सम्बन्धी सम्पूर्ण कार्य पुरा गरी स्वीकृतिका लागि अर्थ मन्त्रालय समक्ष पेश गरेको थियो । तर, बोर्डको ल्याएको प्रस्तावको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विरोध गरेपछि अन्योलमा परेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

बार्डले मौजुदा कमिशनदरमा ५० प्रतिशत घटाउने गरी मन्त्रालयमा फाइल पेश गरेको थियो । सो विषय नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले वाहिर ल्याएपछि ब्रोकरहरुले विरोध गरेका कारण अन्योलमा परेको हो । साथै, महाप्रबन्धक थपलियाले तत्काल दलाल कमिशन नघटाउन अनुरोध गरेको समेत मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेप्सेले विरोध गरेपनि कमिशन घटाउने विषयलाई केही समयभित्रै टुङ्गो लगाइने अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. गोविन्द नेपालले बिजखबरलाई बताए । ‘आफ्नो आम्दानीको स्रोत घट्ने भएपछि नेप्सेले विरोध गर्नु स्वभाविक हो,’ उनले भने, ‘तर, नेप्सेले विरोध गरेपनि मन्त्रालयले केही समयभित्रै घटाएर कार्यान्वयनमा ल्याउन स्वीकृति दिने छ ।’ कमिशन घटाउने विषयमा नेप्से तथा ब्रोकरहरुको विरोध आएको समेत उनले जानकारी दिए ।

हाल धितोपत्र बोर्डले पेश गरेकै कमिशन दर कार्यान्वयनमा ल्याउने गरी फाइल अघि बढाइएको समेत डा. नेपालले जानकारी दिए । ‘मन्त्रालयले लगानीकर्ताको हित हुनेगरी कमिशनदर तय गर्ने छ,’ उनले भने, ‘तसर्थ चाडै नै टुङ्गो लगाइने छ ।’

नेपालको धितोपत्र दलालको कमिशन दर दक्षिण एसियामै सवैभन्दा बढी रहेको छ । विगत ८ वर्ष यता एउटै कमिशनदर रहेको छ । हाल ५० हजार रुपैयाँसम्म १ प्रतिशत, सोभन्दा माथी ५ लाख रुपैयाँसम्म जिरो दशमलव ९ प्रतिशत, ५ लाखदेखि १० लाख रुपैयाँसम्म जिरो दशमवल ८ प्रतिशत र १० लाख रुपैयाँभन्दा माथी जिरो दशलमव ७ प्रतिशत कमिशन दर रहेको छ । लगानीकर्ताले पनि धितोपत्र दलालको कमिशन दर बढी भएको भन्दै घटाउन माग गरिरहेका छन् ।

नेप्सेका महाप्रवन्धक सिताराम थपलिया भने दलालको कमिशन दर घटाउने विषयमा आफुलाई कुनै जानकारी नभएको बताउँछन् । ‘यो विषय बोर्ड र मन्त्रालय मातहमा रहेको छ,’ उनले भने, ‘पछिल्लो समय के अपडेट भइरहेको छ कुनै जानकारी छैन ।’ साथै, आफुले सो विषयमा विरोध नगरेको समेत उनले स्पष्ट पारे । सो विषयलाई मन्त्रालयल र बोर्डले स्वतन्त्र रुपमा तय गर्न सक्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL