Logo

यातायात क्षेत्र विकासको ५ वर्षे योजना सार्वजनिक, सवाँ ८ खर्ब खर्च, यस्ता छन् योजना

यातायात क्षेत्र विकासको ५ वर्षे योजना सार्वजनिक, सवाँ ८ खर्ब खर्च, यस्ता छन् योजना


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले क्षतिग्रस्त सडको पुनर्निमाण तथा सडक संजाल विस्तारका लागि ५ वर्षे रणनीति योजना सार्वजनिक गरेको छ । प्रमुख राजमार्गहरुको विकास, उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक एवं महत्व पूर्ण सडकहरुको विकास, द्विदेशीय व्यापारिक नाका जोड्ने, रेल्वे, पुल तथा सुरुङ मार्ग निर्माण गर्ने गरी रणनीति योजना सार्वजनिक गरेको हो । जसको लागि ‘सम्बृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको ५ वर्षे रणनीतिक योजना, २०७३–२०७८’ सार्वजनिक गरिएको मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले बताए ।

मन्त्रालयले सार्वजनिक गरेको योजना अनुसार आगामी ५ वर्षभित्रमा ७५ वटै जिल्ला सदरमुकामसम्म कालोपत्रे गरी बाह्रै महिना यातायात संचालन गरिने भएको छ । यसैगरी, मुलुकको संघीय संरचना अनुसार राजमार्गको निर्माण, सडक संचाललाई छोट्याउने, बैकल्पि राजमार्गको विकास लगायतका काम गरिने भएको छ । जसको लागि आगामी ५ वर्षसम्मका लागि ८ खर्ब १६ अर्ब रुपैयाँ बजेट लाग्ने मन्त्रालयले जानकारी दिएको छ । उक्त रकमको लागि नेपाल सरकारको विभिन्न निकायबाट स्वीकृत गराएर योजना बनाइएको समेत कार्कीले जानकारी दिए ।

भारतले लगाएको नाकाबन्दीको समयमा अन्य सवै नाका खुलेर विरगञ्ज नाकामात्र बन्द हुँदा पनि नेपालको आपूर्ति व्यवस्थामा समस्या आएको भन्दै पूर्व पश्चिम राजमार्गको धरान–चतरा–गाईघाट–हेटौडा सडकलाई बैकल्पिक नाकाको रुपमा संचालनमा ल्याइने भएको छ । यसैगरी, पूर्व पश्चिम राजमार्गको काकरभिट्टा–बुटवल सडक खण्डको ५ सय ८८ किलोमिटर सडकलाई ४ लेनको बनाइने भएको छ भने पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकलाई पनि ४ लेनमै विस्तार गरिने छ ।

मध्य पहाडी राजमार्गको ट्रयाकलाई २ वर्षभित्रै खोलिने भएको छ । जसलाई ५ वर्षभित्र कालोपत्रे समेत गरिने छ भने सो सडक खण्डमा १ सय ५ वटा पुला निर्माण गरिने भएको छ । हुलाकी राजमार्गको २ वर्षभित्रै डीपीआर तयार गरी ५ वर्षभित्रै निर्माण सम्पन्न गरिने उक्त योजनामा उल्लेख छ । सरकारले काठमाडौं–तराई द्वुत मार्गलाई पनि ५ वर्षभित्रै निर्माण सम्पन्न गर्ने भएको छ । यसको लागि केही समयभित्रै सरकारले निर्णय गरी काम अघि बढाउने उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छादारले बताए ।

उत्तर–दक्षिण जोड्ने प्रमुख व्यापारिक सडकको विस्तार

सो अवधिमा कोशी करिडोरको रानी–विराटनगर–इटहरी–धरान–खाँदवारी–किमाथान्काको ३ सय १० किलोमिटर सडक निर्माण गरिने भएको छ । हाल सो मध्ये ८४ किमी ट्रयाक खोल्न बाँकी रहेको र ५ वर्षभित्र २ लेनमा विस्तार गरी कालोपत्रे गरिने भएको छ । यसैगरी कालीगण्डी करिडोको ३ सय ९० किमी सडकलाई पनि २ लेनमा विस्तार गरी कालोपत्रे गरिने भएको छ । भिट्टामोटर–ढल्केवर–लाप्चा सडकलाई पनि ५ वर्षभित्रै सम्पन्न गरिने छ ।

चीन र भारसँगको व्यापारको लागि प्रमुख नाकाको रुपमा रहेको विरगञ्ज– हेटौडा–काठमाडौं–दोलालघाट–कोदारीको ३ सय ९० किमी सडकलाई ४ लेन र २ लेनमा विस्तार गरिने छ । लुम्बिनी चक्रपथलाई पनि ५ वर्षभित्रै निर्माण सम्पन्न गरिने भएको छ ।

३ वटा रेलमार्ग

जयनगर–जनकपुर–बर्दिबासको रेलमार्गलाई ३ वर्षभित्रै निर्माण सम्पन्न गरी रेल संचालनमा ल्याईने भएको छ । यसैगरी, मेची–महाकाली रेलमार्ग अन्तरगतको बर्दिबास–विरगञ्ज खण्डको ट्रयाकबोर्ड तथा पुल पुलेसा निर्माणको कार्य ४ वर्षभित्रै सम्पन्न गरिने छ । बर्दिबास–काकरभिट्टको २ सय ६२ किमी ट्रयाकलाई आगामी ५ वर्षभित्र सम्पन्न गरिने भएको छ । यस्तै बुटवल–गड्डाचौकीको ६ सय ६७ किमी तथा निजगढ–हेटौडा–भरतपुरको १ सयढ ३५ किमी ट्रयाकको २ वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरी ५ वर्षभित्रै निर्माण गरिने भएको छ । रसुवागढी–काठमाडौं–पोखरा–लुम्बीनीको पनि ३ वर्षभित्रै निर्माणकार्य सम्पन्न गरिने योजनामा उल्लेख छ ।

आगामी ५ वर्षभित्र ६ सय ६० वटा पक्की पुल निर्माण गरिने भएको छ । हाल निर्माणाधिन अवस्थामा २ सयवटा रहेका छन् भने थप ४ सय ५० वटा बनाईने कार्कीले जानकारी दिए ।

३ सुरुङ मार्ग निर्माण

सो अवधिमा विभिन्न स्थानमा ३ वटा सुरुङ मार्ग निर्माण गरिने छ । जसमा त्रिभुवन राजपथको नागढुङगा तथा लामाबगर–लाग्चा सडकलाई सुरुङमार्ग बनाईने भएको छ । यसैगरी टोखा–गुर्जेभज्याङ तथा सिदार्थ राजमार्गको सिद्धबाबा खण्डमा पनि सुरुङमार्ग बनाईने भएको छ । जसको लागि केही समयभित्रै आर्थिक एवं प्राविधिक संभाव्यता अन्यन शुरु गरी निर्माण कार्य अघि बढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL