काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यस अवधिमा सरकारको पुँजीगत खर्च करिब ९ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारको पुँजीगत खर्च ३३ अर्ब ९९ करोड १६ लाख रुपैयाँ बराबर छ ।
चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजाबर बजेट छुट्याएको छ । हालसम्मको पुँजीगत खर्च ८ दशमलव ९४ प्रतिशत बराबर हो ।
त्यस्तै चालु शीर्षकमा विनियोजित कूल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बजेटमध्ये हालसम्म २९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । जुन ३ खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ बराबर हो ।
वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकामा मङ्सिर मसान्तसम्ममा ४६ अर्ब ९६ करोड २६ लाख बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २० दशमलव चार प्रतिशत बराबर हो । यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ ।
यही अवधिमा सरकारको राजस्व सङ्कलन २४ दशमलव ५२ प्रतिशत बराबर रहेको छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने र ५५ अर्ब ४५ लाख ८३ करोड रुपैयाँ वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।
हालसम्म आन्तरिक राजस्व सङ्कलन ३ खर्ब २६ अर्ब ८९ करोड अर्थात् वार्षिक लक्ष्यको २३ दशमलव ३ प्रतिशत बराबर छ । साथै यस अवधिमा सरकारले ३ अर्ब ४१ करोड ५९ लाख अर्थात् वार्षिक लक्ष्यको ६ दशमलव १६ प्रतिशत वैदेशिक अनुदान लिएको छ ।रासस