Logo

मोवाइलमा आइएमइआई नम्वर छ ? छैन भने आजबाट बन्द हुन सक्छ

मोवाइलमा आइएमइआई नम्वर छ ? छैन भने आजबाट बन्द हुन सक्छ


रक्षा रेग्मी
27
Shares

काठमाडौं । अबैध रुपमा आयात भएका मोवाइल सेट बोक्नुभएको छ भने विचार गर्नुहोस, तपाईको मोवाइल जुनसुकै बेला ब्लक हुन सक्छ । किनकी नेपाल दुरसञ्चार प्राधिकरणले आइएमइआई (विशिष्ट पहिचान अंक)  नभएका मोवाइल  बैशाख १ गतेदेखि ब्लक गर्ने भएको छ । अबैध रुपमा भित्रिएका तथा विदेशबाट उपहार स्वरुप आएका अधिकांश मोवाइलमा आइएमइआई नहुने भएकोले त्यस्ता मोवाइल प्रयोगकर्ताले समयमै विचार पुर्याउनुपर्ने भएको छ ।

प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ (एनइआईआर) को अन्तरिम कार्यविधीले आधिकारिक आईएमइआई नम्बर नभएका मोबाइल ब्लक गराउने निर्णय गरेको छ । त्यसकारण आफ्नो मोवाइलको आइएमइआई नम्वर सही छ या छैन भनी जाँच गराउनु पर्ने छ । बढ्दो मोवाइल चोरीको समस्या समाधान तथा राष्ट्रिय तथा उपभोक्ताको सुरक्षा प्रत्याभुती गर्ने उद्देश्यले नयाँ रणनीति अपनाउन लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

राष्ट्रिय उपकरण पहिचान रजिस्ट्री  (एनआइइआर) नाम दिइएको सो निर्देशिकाले मोवाइलको तस्करी, कालोबजारी रोक्ने  र हराएका मोवाइलको ट्रयाकीङ तथा व्लकिङ गर्ने समेत बताइएको छ ।  ‘मोवाइल चोरी हुने तथा मोवाइलबाट आपराधिक क्रियाकलाप गर्ने बढेको पाइएको छ,’ उनले भने, ‘उक्त निर्देशिका लागू गरेसँगै चोरीको मोवाइल किनबेच ठप्प हुने तथा आपराधिक क्रियाकलाप पनि कम हुनेछ ।’ साथै भन्सार छलिलाई हटाएर देशको राजस्व बढाउन सहयोग गर्ने उद्देश्यका साथ नयाँ व्यवस्था लागु गर्न लागेको उनले जानकारी दिए ।

कसरी थाहा पाउने आइएमइआई नम्वर

मोवाइल प्रयोगकर्ताले स्टार ह्यास शुन्य ६ ह्यास (८३ण्ट३० डायल गरेर आफ्नो  मोवाइलको आइएमइआई नम्वर पत्ता लगाउन सक्छन् । साथै मावाइलमा व्याट्रि राख्ने भागमा पनि आइएमइआई नम्वर दिइएको हुन्छ ।

आइएमइआइ नम्वर किन?

आइएमइआई नम्वरमार्फत मोवाइल सेवा प्रदायकले हराएका या चोरी भएका मोवाइल ट्रयाक गर्न सक्छन् । जसले गर्दा अपराधिक क्रियाकलाप पनि कम हुन्छ भने अवैध व्यापार नियन्त्रण गर्नुका साथै देशको राजस्व समेत बृद्धि गर्छ ।

प्रवक्ता अर्यालले पछिल्लो समय इपेमेन्ट, इकमर्शलगायत सम्पूर्ण काम मोवाइलबाट हुन थालेकोले मोवाइललाई उपयुक्त ढंगले व्यवस्थित गर्न बैशाख देखि आइएमइआई नभएका मोवाइल ब्लक गर्न लागेको बताए ।

२०७३ साल बैसाख १ गतेभन्दा अगाडि ल्याएका मोवाइल फोनलाई नेटवर्क अपरेटरले आफै रजिस्टर गरिदिनु पर्ने छ । बैशाख पछि हाल चालु रहेका आइएमइआई नभएका वा नक्कली आइएमइआई भएका प्रयोगकर्ताहरुलाई अपरेटर कम्पनीबाट सूचना स्वरुप म्यासेज पठाइनेछ । सो म्यासेज प्राप्त हुनासाथ प्रयोगकर्ताले त्यसबारे  थप जानकारी दिनुपर्ने अर्यालले जानकारी दिए ।

‘शुरुमा आइएमइआई नम्बर नभएका मोवाइललाई ६ महिनाको म्याद दिएर आइएमइआई रजिष्टर गर्न लगाउँछौं,’ उनले भने, ‘त्यस अवधिमा पनि दर्ता नगरे मोवाइल नै व्लक हुन्छ ।’ प्राधिकरणले मोवाइलको प्रयोग तथा विक्री वितरणलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ यो नियम लागु गर्न लागेको हो ।
यो सेवा संचालन गर्न सबै अपरेटर सिस्टममा इआईआर (उपकरण पहिचान दर्ता) सुविधा हुनु पर्छ ।  एनसेल र स्मार्टसेल कम्पनीमा यो इआईआर सुविधा छ । नेपाल टेलिकमका केही उपकरणमा यो सुविधा नभएको र पछि यसलाई अपग्रेड गर्न सकिने अर्यालले बताए । ‘पहिलो चरण अर्थात पहिलो ६ महिनामा नेपालका अपरेटरको सिस्टममा यो सेवा संचालन गर्ने भएका छौं,’ उनले भने ।

इआईआर सुविधाले कुनै पनि फोन नक्कली (फेक), क्लोन र नल (आईएमइआई नै नदेखाउने) मोबाइल फोनको पहिचान गर्छ । त्यस्तै कतिपय  मोबाइल फोनमा नक्कली आइएमइआई नम्बर हुने तथा २ वटा फोनमा एउटै नम्बर भएका पनि छन् । अर्यालका अनुसार मोबाइल अपरेटर कम्पनीले बैशाख देखि यस्ता मोबाइल फोन पहिचान गरी सूची तयार पारेर प्रधिकरणलाई बुझाउनु पर्नेछ । ‘दोस्रो चरणमा अर्थात् ६ महिनापछि सम्पूर्ण मोबाइल सेवा प्रदायक कम्पनीले पूर्णरुपमा इआईआर सुविधा जडान गर्नुपर्ने छ,’ उनले भने, ‘साथै यही चरणमा आईएमइआई इम्प्लान्टेसन प्रोग्राम पनि हामी सुरु गछौं।’

सो कार्यक्रम अन्तर्गत नक्कली आइएमइआई भएका मोबाइलमा नयाँ सक्कली आईएमइआई राखिने छ । त्यस्ता मोबाइल प्रयोगकर्ताले केही रकम तिरेर सक्कली आईएमइआई राख्न सक्नेछन् ।

साथै प्राधिकरणले वैशाख १ गतेदेखि नेपाल भित्रिने सबै मोबाइल फोनको आइएमइआई नम्बर भन्सार कार्यलय, प्राधिकरण र मोबाइल अपरेटर कम्पनीमा दर्ता गरिने र नेपालमा हाल प्रयोगमा रहेका मोबाइललाई निगरानीमा राख्ने बताएको छ ।

उनका अनुसार इआईआर सिस्टम ‘ब्ल्याक लिस्ट, ग्रे लिस्ट र ह्वाइट लिस्ट गरी ३ प्रकारका हुन्छन् । ब्ल्याक लिस्टमा मोबाइल पूर्णरुपमा बन्द हुन्छ । ग्रे लिस्टमा निगरानीमा राखिन्छ भने ह्वाइट लिस्टमा मोबाइल बिना कुनै बाधा अवरोध प्रयोग गर्न सकिन्छ ।

बैशख १ पछि व्यक्तिगत प्रायोजनको लागि विदेशबाट मोबाइल ल्याइएमा फोनका आईएमइआई नम्बर नेपाल दूरसञ्चार प्रधिकरणमा दार्ता गर्नुपर्ने हुन्छ । यसका लागि प्राधिकरणले उपलब्ध गराउने अनलाइन फारम भर्नुपर्ने अर्यालले बताए । यदि कुनै मोबाइल प्रयोगकर्ताको आइएमइआई नम्बर नक्कली छ भने नयाँ नम्बर राख्न आइएमइआई इम्प्लान्टेशन प्रोग्राममा सम्पर्क गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्