Logo

‘म्युचुअल फण्ड’को चुक्ता पूँजी ५ अर्ब पुर्याउने तयारी

‘म्युचुअल फण्ड’को चुक्ता पूँजी ५ अर्ब पुर्याउने तयारी


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्ड (सामुहिक लगानी कोष) को चुक्ता पूँजी बृद्धिको तयारी शुरु गरेको छ । पूँजी बृद्धिको लागि गृहकार्य शुरु भएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए ।

बोर्डका अनुसार मौजुदा चुक्ता पूँजीलाई बृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याइने भएको छ । म्युचुअल फण्डलाई विश्वासिलो र बजारमा दरिलो रुपमा प्रस्तुत गर्नका लागि चुक्ता पूँजी बृद्धि गर्न लागिएको हो । हाल सामुहिक लगानी कोषको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।

हाल चुक्ता पूँजी बृद्धिको लागि सम्बद्ध सरोकारवालासँग छलफल भइरहेको र आगामी दिनमा बृद्धि गरेर ५ अर्ब रुपैयाँ पुर्याइने डा. कार्की बताउँछन् । ‘बोर्डले वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब हुँदा म्युचुअल फण्डको १ अर्ब तोकेको थियो,’ उनले भने, ‘हाल बजारको आधार ठूलो भएको र बैंकको चुक्ता पूँजी समेत ८ अर्ब पुगिसकेकाले बृद्धि गर्न लागिएको हो ।’

कोषमा लगानीकर्ताको विश्वास बढाउन र ठूला आयोजनाको व्यवस्थापक तथा डिपोजीटरीका लागि पनि पूँजी बृद्धि आवश्यक भएको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ ।

कुनै पनि संस्थालाई बलियो र विश्वासिलो बनाउनका लागि पूँजी बृद्धि आवश्यक भएको नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए । ‘म्युचुअल फण्डजस्तो संस्थालाई विश्वासिलो र आर्थिक रुपमा सवल बनाउनु पर्छ,’ उनले भने, ‘त्यसको एउटै मात्र काम भनेको पूँजी बृद्धि हो ।’ पूँजी बृद्धि गरिए अझै प्रभावकारी हुने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL