Logo

बीमा कम्पनीलाई ‘म्युचुअल फण्ड’ खोल्न सहमति दिईँदै

बीमा कम्पनीलाई ‘म्युचुअल फण्ड’ खोल्न सहमति दिईँदै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीलाई पनि म्युचुअल फण्ड (सामुहिक लगानी कोष) संचालन गर्न दिने भएको छ । हाल बीमा कम्पनीलाई म्युचुअल फण्ड संचालन गर्न दिनका लागि प्रकिया अघि बढाइएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए । ‘म्युचुअल फण्ड संचालन गर्ने सम्बन्धमा बीमा कम्पनी र बोर्ड बीच छलफल भइरहेको छ,’ उनले भने, ‘सोही अनुरुप नेपाल बीमक संघलाई प्रस्ताव ल्याउन आग्रह गरिएको छ ।’

म्युचुअल फण्ड सम्बन्धी नियामावली अनुसार बैंक वित्तीय संस्था तथा वित्तीय करोवार गर्न संगठिन रुपमा स्थापना भएको संस्थाले मात्र म्युचुअल फण्ड संचालन गर्न सक्नेछन् । तर, नियमावली नै परिमार्जन गरी बीमा कम्पनीलाई म्युचुअल फण्ड संचालन गर्न दिने तयारी भइरहेको समेत उनले जानकारी दिए । हाल इन्स्योरेन्स कम्पनीसँग लगानीयोग्य ठूलो रमक रहेकाले त्यसलाई परिचालन गर्नका लागि पनि सामुहिक लगानीकोषको आवश्यकता भएको बोर्डले जानकारी दिएको छ ।

बीमा कम्पनीलाई कोष संचालन गर्न दिँदा त्यसको चुक्ता पूँजी कति रहने, संचालन बिधी कस्तो हुने भन्ने विषयमा भने छलफल हुन बाँकी नै रहेको डा. कार्की बताउँछन् । बीमा कम्पनीलाई कोष संचालन गर्न दिनका लागि विभिन्न देशको मोडलको वारेमा समेत अध्ययन भइरहेको उनले जानकारी दिए ।

यता बीमा कम्पनीहरु पनि म्युचुअल फण्ड स्थापनाको लागि तयार रहेको र सोही अनुरुप छलफल अघि बढाइरहेको बताउँछन् । इन्स्योरेन्स कम्पनीको लगानी योग्य पूँजीलाई सही ठाउँमा लगानी गर्नका लागि पनि म्युचुअल फण्डको आवश्यकता भएको नेपाल विमक संघका सदस्य तथा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अघिकृत विवेक झा बताउँछन् । ‘नेपालका बीमा कम्पनीहरु पनि म्युचुअल फण्ड संचालनका लागि समक्षम छन्,’ उनले भने, ‘यदि नियामक निकायले स्वीकृति दिएमा तत्काल संचालनमा ल्याउने छौं ।’ साथै, इन्स्योरेन्स कम्पनीलाई इकाई खरिदका लागि समेत सहज भएको उनले जानकारी दिए ।

म्युचुअल फण्ड संचालनका लागि इन्स्यारेन्स कम्पनीहरुबीच छलफल भइरहेको नेपाल बीमक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय शाहले बताए । धितोपात्र बोर्डसँगको छलफल पश्चात यसलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको समेत उनले जानकारी दिए ।

साना साना लगानीकर्तासँग रकम जम्मा वित्तीय बजारमा लगानी गर्नका लागि सामुहिक लगानीकोषको स्थापना गरिएको हो । वित्तीय बजार सम्बन्धी जानकारी नभएका व्यक्ति वित्तीय बजारमा प्रवेश गर्ने उपयुक्त माध्यम म्युचुअल फण्ड हो । तर, नेपालका म्युचुअल फण्ड संचालकले बजारलाई आफ्नो स्वार्थ अनुरुप तलमाथी गराउनको लागि फण्डको प्रयोग गर्दै आएका सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL