Logo

भारतको आफ्नै ‘डिजिटल रुपैयाँ’ आयो ! आजबाट पाइलट परीक्षण

भारतको आफ्नै ‘डिजिटल रुपैयाँ’ आयो ! आजबाट पाइलट परीक्षण



काठमाडौं । भारतको डिजिटल मुद्रा ‘डिजिटल रुपैयाँ’ को पहिलो पाइलट परीक्षण मंगलबार अर्थात् आजबाट सुरु भएको छ । जसमा नौ बैंकहरूले सरकारी धितोमा कारोबारका लागि यो डिजिटल मुद्रा प्रयोग गरेका छन् । भारतीय रिजर्व बैंक (आरबीआई) ले सोमबार जारी गरेको विज्ञप्तिमा, “डिजिटल रुपैया (थोक सेगमेन्ट) को पहिलो पाइलट ट्रायल नोभेम्बर १ मा सुरु हुनेछ । यस परीक्षण अन्तर्गत सरकारी धितोपत्रको दोस्रो बजार कारोबार मिलाइनेछ’, उल्लेख थियो ।

भारतीय केन्द्रीय बैंक आइबीआइले डिजिटल मुद्रा वा ‘सिबिडिसी’ पेश गर्ने आफ्नो योजनातर्फ एक कदम चाल्दै डिजिटल रुपैयाँको पायलट परीक्षण सुरु गर्ने निर्णय गरेको छ । थोक कारोबारको लागि यो परीक्षणमा नौ बैंकहरूले भाग लिनेछन् । यी बैंकहरूलाई स्टेट बैंक अफ इन्डिया (एसबीआई), बैंक अफ बडोदा, युनियन बैंक अफ इन्डिया, एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, कोटक महिन्द्रा बैंक, यस बैंक, आईडीएफसी फस्र्ट बैंक र एचएसबीसीको रूपमा पहिचान गरिएको छ । आरबीआईको डिजिटल मुद्रामा सम्झौताहरू सेटलमेन्टको लागत घटाउने सम्भावना छ ।

यससँगै आरबीआईले डिजिटल रुपैयाँ (रिटेल सेगमेन्ट) को पहिलो पाइलट ट्रायल एक महिनाभित्र सुरु गर्ने योजना रहेको बताएको छ । परीक्षण विशिष्ट प्रयोगकर्ता समूहहरू बीच चयन गरिएका स्थानहरूमा सञ्चालन गरिनेछ, जसमा ग्राहकहरू र व्यापारीहरू समावेश छन् । रिजर्भ बैंकका अनुसार, अन्य थोक लेनदेन र क्रस बोर्डर भुक्तानीहरू पनि भविष्यको पायलट परीक्षणहरूमा हेरिनेछ ।

आरबीआईले डिजिटल मुद्रामा प्रस्तुत गरेको अवधारणा प्रतिवेदनमा यो डिजिटल मुद्रा ल्याउनुको उद्देश्य मुद्राको विद्यमान रूपहरूलाई पूरक बनाउनु रहेको बताएको थियो । यसले प्रयोगकर्ताहरूलाई अवस्थित भुक्तानी प्रणालीहरूसँग थप भुक्तानी विकल्पहरू उपलब्ध गराउनेछ । सिबिडिसी केन्द्रीय बैंकद्वारा जारी मौद्रिक नोट को डिजिटल रूप हो । विश्वभरका केन्द्रीय बैंकहरूले सिबिडिसी को परिचय दिने सम्भावनाहरू खोजिरहेका छन् । भारतीय सरकारले आर्थिक वर्ष २०२२–२३ को बजेटमा डिजिटल रुपैयाँ ल्याउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्