Logo

आकासे पुल नुहँदा बाटो काट्न समस्या, थप ७ वटा बनाउँदै महानगरपालिका

आकासे पुल नुहँदा बाटो काट्न समस्या, थप ७ वटा बनाउँदै महानगरपालिका


रक्षा रेग्मी
0
Shares

काठमाडौं । बानेश्वर बस्ने शिव अधिकारी अफिस पुग्न लाग्ने समय भन्दा सधै १५ मिनेट अघि निस्कन्छन् । बाटो क्रसका लागि आकासे पुल नुहँदा बढी जाममा परिने भएकाले उनले सो समय बानेश्वर चोकबाट पारी जानका लागि छुट्याएका हुन् । बानेश्वरमा गाडीको चापले गर्दा सडक पार गर्न १५ मिनेटभन्दा बढी समय कुनुपर्ने भएकोले सधै चाँडै निस्कनुपर्ने बाध्यता रहेको उनी बताउँछन् । त्यस्तै चावहिलका मन्दिरा पन्त पनि आकासे पुल नुहँदा सडक पार गर्न निकै कठिन भएको बताउँछिन् । हुत्तिदै आउने मोटरसाइकल र हात दिदाँ नरोक्ने गाडीले गर्दा शिव र मन्दिरा जस्ता सयौंलाई सडक पार गर्न समस्या भइरहेको छ ।

त्यसो त आकासे पुल भएको ठाउँमा पनि यात्रु सहज रुपमा हिड्न नसेकेको गुनासो गर्छन् । आकासे पुलको वरिपरि पसल राख्दा पैदल यात्रुलाई हिड्न समस्या भएको हो । त्यसमा पनि शारिरिक अपांगता भएका व्यक्तिहरुलाई त सडक पार्न गर्न निकै कठिन छ ।

काठमाडौं महानगरपालिकाले भने यात्रुको बढी चाप हुने स्थानमा चाँडै नै आकासे पुल बनाउने तयारी गरिरहेको बताएको छ । महानगरपालिकाले काठमाडौंका ७ स्थानमा आकासे पुल बनाउन लागेको कार्यकारी निर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

उनका अनुसार महानगरले काठमाडौंको बानेश्वर, महाराजगञ्ज, त्रिचन्द्र, चावाहिल, त्रिपुरेश्वरलगायत स्थानमा आकासे पुल बनाउन लागेको हो । त्यसमध्ये त्रिपुरेश्वरमा सडक विस्तारको काम भइरहेकोले केही समय लाग्ने उनले जानकारी दिए । महानगरपालिकाले आकासे पुल निर्माणका लागि सडक विभागसँग सहकार्य गरिरहेको छ । ‘ट्राफिक व्यवस्थापन र यात्रुको सहजताकाका लागि महानगरले आफ्नै लगानीमा आकासे पुल बनाउन लागेको हो,’ उनले भने ।

अव बन्ने आकासे पुल अपांगमैत्री हुने उनको दावी छ । त्यस्तै नयाँ बन्ने आकासे पुलमा ब्यापारिक प्रयोजनका सटरहरु राख्न नदिने उनले जानकारी दिए । ‘हाल भइरहेका पुलको डिजाइन गलत भएको महशुस गरिएको छ,’ उनले भने, ‘नयाँ बन्ने पुलमा सटर तथा पसल राख्न नमिल्ने गरी डिजाइन गरिने छ ।’

अहिले काठमाडौंका धेरै आकासे पुलहरुमा सटरहरु राखिएका छन् । कतिपय पुल त व्यापारिक प्रयोजनकै लागि निर्माण गरिएको छ भन्दा पनि फरक नपर्ला । हाल पुल निर्माणका लागि डिजाइन तयार गर्ने काम सुरु भएको महानगरले जानकारी दिएको छ । ट्राफिक प्रहरी र महानगरीय प्रहरी परिसरको सुझावका आधारमा आकासेपुल निर्माण गर्ने ठाउँ तय भएको उनले जानकारी दिए । ‘आगामी हप्ता सडक विभागसँग छलफल रहेको र त्यस पश्चात आवश्यक काम अगाढी बढाइनेछ,’ उनले भने ।

सबै आकासेपुल ३ बर्षभित्र निर्माण गरिसक्ने महानगरपालिकाको योजना छ । यस्ता आकाशे पुल निर्माणमा १ करोड रुपैयाँ भन्दा बढी खर्च हुने महानगरको अनुमान छ । यसअघि विभिन्न ठाउँमा आकासे पुल निर्माण गर्ने गरी सडक विभागले प्रक्रिया अघि बढाएपनि एउटा पनि टेण्डर नपरेको भन्दै पन्छिएको थियो । त्यतिवेला सडक विभागले २ पटकसम्म टेण्डर आह्वान गरेको थियो ।

यस्तै अहिले प्रयोगमा रहेका भद्रकाली रणोदीप चोक, सुन्धारा, जमल, वीर अस्पताल, भोटाहिटी, कलंकी र नयाँबसपार्कमा भएका आकासे पुलमा हुने आपराधिक क्रियाकलाप रोक्ने रेलिङको उचाई घटाएर पारदर्शी बनाइने पनि महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्