Logo

मेलम्चीको आशमा राजधानीबासी, अझै डेढ बर्ष कुर्नुपर्ने

मेलम्चीको आशमा राजधानीबासी, अझै डेढ बर्ष कुर्नुपर्ने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । राजधानीबासीले मेलम्चीको पानी पिउन अझै डेढ बर्ष कुर्नुपर्ने भएको छ । आगामी बैशाखदेखि मेलम्चीको पानी उपत्यका ल्याइने भनिएपनि सुरुङ निर्माणको काम नसकिएकोले अझै डेढ वर्ष लाग्ने भएको हो ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम तोकिएको समयमा नसकिने भएपछि अवधि थपिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले बताए । सरकारले २०७३ को वैशाखमा मेलम्चीको पानी उपत्यका भित्र्याउने प्रतिवद्धता व्यक्त गरेको थियो । ‘सुरुङ निर्माण काम सक्न अझै १ बर्ष लाग्छ,’ उनले भने, ‘त्यसको ४\५ महिनापछि बल्ल पानी ल्याउन सकिन्छ ।’

आगामी ढेड बर्षभित्र उपत्यकामा मेलम्चीको पानी ल्याउने उद्देश्यका साथ सुरुङ निर्माण कार्य तिव्र रुपमा अगाडी बढाइएको भट्टराइले जानकारी दिए । ‘पहिला दैनिक बढीमा २० मिटर सुरुङ बनाइने गरेकोमा अहिले न्युनतम २० मिटरको सुरुङ खनिएको छ,’ उनले भने ‘यही रफ्तारमा कामलाई निरन्तरता दिइएमा तोकिएको समयभित्रै पानी ल्याउन सकिन्छ ।’ अहिले निर्माण व्यवसायीको कार्य प्रणालीमा पनि सुधार आएकोले डेढ बर्षभित्र पानी ल्याउन सकिने उनको आशा छ ।

गत वैशाख १२ गतेको भूकम्पका कारण रोकिएको काम सुरु नहुँदै असोज ६ गते भारतले अघोषित नाकाबन्दी गरेपछि ११ महिनासम्म काम प्रभावित भएको उनले जानकारी दिए । मेलम्चीमा फागुनको दोश्रो साताबाट काम सुचारु गरिएको हो ।

अहिलेसम्म १४ किलो मिटरभन्दा बढी सुरुङ खन्ने काम सकिएको छ, । त्यस्तै अब साढे १२ किमी सुरुङ खन्न बाँकी रहेको छ । सुरुङ ग्याल्थुमबाट अम्बाथान र सिन्धु, सिन्धुबाट ग्याल्थुम र सुन्दरीजल तथा सुन्दरीजलबाट सिन्धु सहायक मार्गतिर निर्माण भइरहेको छ । अम्बाथान सहायकमार्ग र मुहानमा काम गर्नका लागि सीएमसीले नेपाली कम्पनी मेगापेक र युनाइटेड बिल्डर्स इन्जिनियरिङलाई जिम्मा दिए पनि काम भने सुरु हुन सकेको छैन ।

यसअघि २०६६ मा सुरुङ निर्माणको ठेक्का लिएको चिनियाँ सरकारी ठेकेदार कम्पनीले काम नगरी भागेपछि सीएमसीलाई ठेक्का दिइएको थियो । इटालीको ठेकेदार कम्पनी सीएमसीसँग सुरुङको २०७३ असोज मसान्तमा सक्ने सम्झौता भएको हो ।

कार्यकारी निर्देशक भट्टराईका अनुसार सुरुङ निर्माणको काम २०७३ असोज मसान्तमा सकिने आकलन गरिएको थियो । तर सम्झौता अवधि अघि काम सकेमा ठेकेदारलाई लाभांश दिने व्यवस्था गराएपछि सीएमसीले बैशाखभित्र काम सक्ने मौखिक प्रतिबद्धता व्यक्त गरेको थियो । सम्झौतामा ६ महिना पहिला काम सकिएमा १० प्रतिशत लाभांशको व्यवस्था गरिएको थियो । ६ महिनाअघि नै काम सक्ने सीएमसीको मौखिक प्रतिबद्धताका कारण वैशाख १ गते काठमाडौंका धारामा मेलम्चीको पानी खसाल्ने सरकारी अधिकारीले सार्वजनिक घोषणा गर्दै आएका थिए । अब यो घोषणा पूरा नहुने भएको छ ।

सीएमसीले ७ अर्ब ७१ करोड रुपैयाँमा मेलम्चीबाट राजधानीसम्म पानी ल्याउन सुरुङ (खन्न बाँकी २१ किलोमिटर) निर्माण गर्ने र खोलामा बाँध बनाउने ठेक्का पाएको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्