Logo

साउनमा ८.२६ प्रतिशतको मूल्यवृद्धि, घ्यु तेलको मूल्य मात्रै १८.७९ प्रतिशतले बढ्यो

साउनमा ८.२६ प्रतिशतको मूल्यवृद्धि, घ्यु तेलको मूल्य मात्रै १८.७९ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार तथ्यांक सार्वजनिक गर्दै गत आवको साउनमा ४.३५ प्रतिशत रहेकोमा चालु आवमा उक्त मुद्रास्फीति बढेको बताएको हो ।

राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत पुगेको छ । २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ ।

गत साउन महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ । २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्