अर्जुन पाख्रिन ।
माथिल्लो तामाकोशिको प्रशारण लाइन जडानको ३० प्रतिशत काम सम्पन्न भएको छ । प्रसारण लाइन विस्तार भएको ३ महिनामै झण्डै ३० प्रतिशत काम सम्पन्न भएको अपर तामाकोशी आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले बताए ‘हामीले प्रसारण लाइन विस्तारका कामलाई द्वुत गतिमा अघि बढाएका छौं,’ उनले भने, ‘आयोजना निर्माण र प्रसारण लाइन विस्तारको काम दुवै एकपटक सकिनेछ ।’ ४ सय ५६ मेगावाट क्षमता रहेका उक्त आयोजना निर्माण सम्पन्नसंगै प्रशारण लाइनको काम पनि एकै साथ सकिने छ ।
प्रवक्ता न्यौपानेका अनुसार प्रसारण लाइनको सब स्टेशन ३ ठाउँमा निर्माण गरिने छ । जस अनुसार आयोजना नजिकै गोंगर, सुनखानी र खिम्तिमा सव स्टेशन राखिने । सव स्टेशन निर्माणको लागि आवश्यक सामाग्री सो ठाउँमा पु¥याइसकेकाले द्वुत गतिमा काम अघि बढेको उनले जानकार दिए ।
यसअघि तामाकोशीको खिम्ती जलिवद्युत आयोजना नजिकै रामेछाप जिल्लामा सब स्टेशन बनाउ जग्गा अधिग्रहण गर्न नसक्दा प्रशारण लाइन निर्माणको काम शुरु हुन सकेको थिएन । तर, अहिले खिम्ती आयोजनाले सब स्टेशन बनाउन जग्गा दिने भएपछि सो काम पनि अघि बढेको उनले बताए । साथै, नेपाल विद्युत प्राधिकरणले देविटारमा जग्गा अधिग्रहण गर्न नसकेपछि खिम्ती आयोजनाको जग्गा उपभोग गरी सव स्टेशन बनाउन लागेको समेत उनले बिजखबरलाई बताए ।
स्थानीय बासिन्दासँग पहिलाको ठाउँमा सहमति नभएपछि हामीलाई प्राधिकरणले नयाँ ठाउँ दिएको न्यौपानेले जानकारी दिए । ‘पहिला जग्गा अधिग्रहणमा विवादका कारण विद्युत उत्पादन शुरु हुँदा पनि ट्रान्समिसन लाइन नबन्ने डर थियो संभावना थियो,’ उनले भने, ‘अहिलेको अवस्थमा तामाकोशीको सबस्टेशन र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन बनाउने काम समयमै सम्पन्न हुनेछ ।’ अहिले विभिन्न पाँच चरणमा काम गरिरहेकोले निर्धारित मितिभित्र काम सकिने उनको दावी छ ।
तामाकोशी प्रशारण लाइनमा १ सय १७ वटा टावर बनाउनुपर्ने हुन्छ । प्रत्येक टावरको क्षमता २२० केवी हुनेछ । प्रशारण टावरको दुरी करिव ४७ किलोमिटर रहनेछ । अपरको योजना निर्माण काम सकिँदा प्रशारण जडानको काम पनि सकिने आयोजनाले बताएको छ ।
यी टावर निर्माणका लागि फरक फरक ठाउँबाट काम अघि बढाइएको जानकारी पनि प्रवक्ता न्यौपानेले दिए । तर, प्राधिकरणले समयमै लागि जग्गा उपलब्ध नगराउँदा निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।
यसैबीच माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुहानमा मंसिर १९ गतेबाट रिभर डाइभर्सन गरी काम थालिएको छ । यसअघि तामाकोशी नदीको बायाँ किनारामा काम भइरहेको थियो । तर, २१ गतेबाट दायाँ किनाराको काम थाल्नका लागि रिभर डाइभर्सन गरिएको हो । यसैगरी तामाकोशी नदीलाई गेट नं ३ र ४ बाट बगाएर दायाँतर्फ काम थालिने समेत उनले बताए ।
हाल अपर तामाकोशीको आवधि क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्ने काम पनि ५० प्रतिशतभन्दा बढी सकिएको छ । मुअब्जाको लागि एक करोड ६ लाख लागत लाग्ने छ । हाल जिल्ला प्रशासन कार्यालय दोलखामार्फत उक्त मुअब्जा वितरण भइरकेको छ ।