Logo

वैदेशिक रोजगारीले धानेको बीमा व्यवसाय, पोलीसीमा ७६ प्रतिशत हिस्सा

वैदेशिक रोजगारीले धानेको बीमा व्यवसाय, पोलीसीमा ७६ प्रतिशत हिस्सा


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । कुल बीमा पोलिसीमा वैदेशिक रोजगार बीमा (सामान्य म्यादी जीवन बीमा) को हिस्सा ७६ प्रतिशत पुगेको छ । नेपालका जीवन बीमा कम्पनीहरुले आन्तरिक रुपमा बीमा गराउनका लागि विभिन्न खालका योजना ल्याएपनि विक्री गर्न नसक्दा वैदेशिक रोजगार बीमाको हिस्सा बढी हुन पुगेको हो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालका जीवन बीमा कम्पनीहरुले कुल ६ लाख ५६ हजार बीमा पोलीसी जारी गरेका छन् । जसमा वैदेशिक रोजगारीमा जाने कामदारको बीमा पोलीसी ४ लाख ९८ हजारभन्दा बढी रहेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमालाई समान्य म्यादी जीवन बीमा अन्तरगत राख्दै आएको छ ।  उक्त पोलीसी जारी गरेवापत बीमा कम्पनीले ८२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।

पछिल्लो समय बीमा पोलीसीमा वैदेशिक रोजगार बीमाको संख्या ह्वात्तै बढेको बीमा समितिले जानकारी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको बीमा अनिवार्य भएकाले पनि उक्त हिस्सा बढ्दै गएको समितिका एक अधिकारीले जानकारी दिए ।

नेपाली बीमा कम्पनीले सोचे अनुरुप बीमाका पोडक्टहरु बेच्न नसक्दा वैदेशिक रोजगार बीमाको हिस्सा बढेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘बीमा कम्पनीले विभिन्न खालका आकर्षक योजना ल्याएका छन्,’ उनले भने, ‘तर, झण्झटिला सरकारी नीति नियम तथा प्रचारप्रसारको अभावले गर्दा बीमा गर्नेको संख्या बढेको छैन ।’ तर कतिपय बीमा कम्पनीले माइक्रो इन्स्योरेन्सलाई पनि समान्य म्यादी जीवन बीमामा राख्दा वैदेशिक रोजगारीमा जानेको बीमा पोलीसी बढ्न गएको समेत उनले जानकारी दिए । साथै अघिल्लो वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घटेकाले बीमा पोलीसी पनि कम हुनुपर्ने उनको भनाइ छ ।

बीमा समितिको तथ्याङ्क अनुसार चालू आवको ६ महिनामा समान्य म्यादी जीवन बीमा अन्तरगत अमेरिक लाइफ इन्स्योरेन्सले सवैभन्दा बढी पोलिसी जारी गरेको छ । सो अवधिमा अमेरिक लाइफले २ लाख ११ हजार ६ सय पोलिसी जारी गरेको देखिन्छ । यसैगरी, नेपाल लाइफले ९२ हजार ८ सय पोलीसी जारी गरेको छ भने नेशनल लाइफल इन्स्योरेन्स कम्पनीले ७६ हजार २ सय पोलीसी जारी गरेको छ । यस्तै, प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले ७० हजार १ सय वटा पोलीसी जारी गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । अन्य कम्पनीले समान्य रुपमा वैदेशिक रोजगार बीमा गराएका छन् भने एशियन लाइफ र राष्ट्रिय बीमा संस्थानले सो सम्बन्धी बीमा नै गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्