Logo

मौद्रिक नीति पछिको पहिलो दिन ६१ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

मौद्रिक नीति पछिको पहिलो दिन ६१ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार



काठमाडौं । नेपाली सेयर बजारमा साताको पहिलो दिन (आईतबार) मौद्रिक नीतिको प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति गत शुक्रबार सार्वजनिक गरेपछिको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको हो ।

आज दिनभर भएको कारोबारमा नेप्से परिसुचक ६१ अंकले बढ्दै २ हजार ७८ को विन्दुमा पुगेर रोकिएको छ । आज बजारमा कारोबार भएका सबै समुहको परिसुचकमा उच्च वृद्धि देखिन्छ । जसमध्ये सबैभन्दा बढी वृद्धि भने वित्त, अतिरिक्त र विकास बैंक समुहको परिसुचकमा देखिन्छ ।

आज वित्त समुहको परिसुचक ७.२२ प्रतिशतले उकालो लाग्दा अतिरिक्त समुहको परिसुचकमा ६.९३ प्रतिशतको वृद्धि देखिन्छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक ५ प्रतिशतले उकालो लाग्दा व्यापार समुहको परिसुचक ४.१४ प्रतिशतले बढेको छ । आज लघुवित्त, जलविद्युत र ईन्भेष्टमेन्ट समुहको परिसुचकमा क्रमशः ३.९१, ३.६८ र ३.२१ प्रतिशतको वृद्धि देखिन्छ । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आईतबार १.६७ प्रतिशतको वृद्धि देखिएको छ ।

आज दिनभर २ सय १९ कम्पनीको ६४ लाख २३ हजार १ सय ४६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ पुगेको छ ।

उच्च अंकले बढेको बजारमा आज सेन्ट्रल फाईनान्स, समृद्धि फाईनान्स र मल्टीपर्पाेज फाईनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शुक्रबार जारी गरिएको मौद्रिक नीतिमार्फत सेयर कर्जाको ४ करोडको सिमा हटाईएपछि सेयर बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्