Logo

आर्थिक संकटबाट बच्न सहयोग गर्न एनआरएनलाई ढकालको आग्रह, भन्छन्-रुस युक्रेन युद्धको प्रभाव पनि पर्दैछ

आर्थिक संकटबाट बच्न सहयोग गर्न एनआरएनलाई ढकालको आग्रह, भन्छन्-रुस युक्रेन युद्धको प्रभाव पनि पर्दैछ



काठमााडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोना पछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन,’ उनले भने, ‘त्यो समस्या हामी पनि झेलिरहेका छौँ ।’

उनले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभर रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे ।

उनले भने ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढी भन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।’

उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राखे।

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाई थियो । उनले नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरुले गैरआवासीय नेपालीहरुसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेश गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL