Logo

पाल्पा सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निकासी, पहिलो दिन ३ हजार बोरा निर्यात

पाल्पा सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निकासी, पहिलो दिन ३ हजार बोरा निर्यात



काठमाडौं । पाल्पा सिमेन्टले अब भारततर्फ सिमेन्ट निर्यात सुरु गरेको छ । पश्चिम नवलपरासीमा उद्योग रहेको उक्त कम्पनीले शुक्रबार ३ ट्रक सिमेन्ट भारत पठाई निर्यात सुरु गरेको हो । कम्पनील्े शुक्रवारबाट रूपन्देहीको बेलहिया नाका हुँदै भारततर्फ सिमेन्ट पठाएको छ ।

उद्योगले आज पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ । दैनिक १८ सय टन क्लिंकर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले आज एक कार्यक्रम गर्दै भारततर्फ सिमेन्ट निकासी गर्न लागेका ३ ट्रकलाई फूलमालासहित पठाएको हो ।

उद्योगले भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने भारत गुणस्तर मापदण्ड लगायतका सबै सरकारी प्रकृया पूरा गरेको जानकारी दिएको छ ।

मागभन्दा बढी उत्पादन भएपछि नेपाली सिमेन्ट उद्योगीहरूले सरकारसँग निकासी सहजीकरणका लागि माग गरेका थिए । सोही अनुसार सरकारले सिमेन्ट निर्यात गर्ने उद्योगहरुलाई ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेकाले सिमेन्ट उद्योगीहरु निकासीमा आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL