Logo

नेपालबाट ३६ देशमा तयारी पोसाक निर्यात, ११ महिनामा झण्डै नौ अर्ब आम्दानी

नेपालबाट ३६ देशमा तयारी पोसाक निर्यात, ११ महिनामा झण्डै नौ अर्ब आम्दानी



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालले तयारी पोसाक निर्यातबाट झण्डै नौ अर्ब रुपैयाँ आर्जन गरेको छ । नेपालले विभिन्न ३६ देशमा तयारी पोसाक निर्यातमार्फत सो रकम आर्जन गरेको भन्सार विभागको तथ्यांक रहेको छ । पछिल्लो समय बढ्दो व्यापार घाटाका बीच पनि निर्यातमा सहुलियत कारण तयारी पोशाकको निर्यातमा भने सामान्य बृद्धि रहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत बर्षको सोही अवधिको तुलनामा एक अर्ब ७८ अर्ब ९१ लाख रुपैयाँ बढीको तयारी वस्तुको निर्यात गरेको छ । नेपालले चालु आवको ११ महिनामा ८ अर्ब ८२ करोड ३१ लाख ४७ हजार रुपैयाँको तयारी पोसाक निर्यात गरेको छ भने गत बर्ष सोही अबधिमा कुल ७ अर्ब ५ करोड ४० लाख ३२ हजार रुपैयाँको तयारी पोशाक निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ ।

नेपालले तयारी पोसाकहरुमा सबैभन्दा धेरै सल, स्काफ, मफलरजन्य वस्तु २ अर्ब ३३ करोड १० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यस्तै त्यसपछि जर्सि लगायतका सामाग्री १ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यसपछि क्रमशः नेपालले महिलाले लगाउने कटनका तयारी ड्रेस ९८ करोड ४१ लाख रुपैयाँको, लेडिज ट्राउजर ८४ करोड २९ लाख रुपैयाँको, लेडिज ज्याकेट जन्य वस्तु ८३ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यस्तै स्वेटरलगायत न्याना वस्तु ४८ करोड १६ लाखको, पुरुषले लगाउने कमिज २४ करोड ७३ लाख रुपैयाँ बराबरको, न्याना उलनका लुगा वेस्टकोटलगायत १३ करोड ९ लाख रुपैयाँ बराबरका, ग्लोभ लगायतका वस्तु १२ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपालले सोही अवधिमा महिलाका कपास र उलनका बुनेका लुगा १० करोड १४ लाख रुपैयाँ बराबरका निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ ।

यी वस्तु निर्यात भएका देशमा सबैभन्दा धेरै ७५ करोड ९४ लाख रुपैयाँको सल, स्काफ, मफलरजन्य वस्तु जर्जियातर्फ निर्यात भएको छ । त्यसपछि ३९ करोड ५१ लाख रुपैयाँ बराबरको सल, स्काफ, मफलरजन्य वस्तु वेलायततर्फ निर्यात भएको छ । त्यसपछि ३२ करोड ४१ लाख रुपैयाँ बराबरको जर्सीजन्यवस्तु युनाईटेड अरब इमिरेटसतर्फ निर्यात भएको छ ।

यस्तै नेपालले तयारी पोसाक छिमेकी राष्ट्र भारतदेखि वेलायत, जर्जिया, युनाईटेड अरब इमिरेटस, फिनल्याण्ड, फ्रान्स, मोनाको, आयरल्याण्डसम्म निर्यात गरेको छ । यस्तै नेपालको उत्पादन रोमानिया, स्लोभाकिया, साईप्रस, फिनल्यान्ड, नर्वे, अमेरिकादेखि क्यानडा सम्म निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

नेपालले चालु आवको ११ महिनामा ३१ अर्ब ६ करोड ४८ लाख ६४ हजार रुपैयाँको तयारी वस्तुको आयात गरेको छ । उक्त रकम गत आवको सोहि अवधिको तुलनामा २ अर्ब ७० करोड १४ लाख १७ हजार रुपैयाँले बढी रहेको छ । गतबर्ष सोही अबधिमा कुल २८ अर्ब ३६ करोड ३४ लाख ४७ हजार रुपैयाँको तयारी वस्तु आयात गरेको विभागको तथ्यांकले देखाएको छ । नेपालले उक्त अवधिमा तयारी वस्तुको आयात गर्दा कुल १० अर्ब ४८ करोड ८८ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै नेपालले तयारी वस्तुमा गत बर्षको तुलनामा ९१ करोड २३ लाख रुपैयाँ बढीले व्यापारघाटा व्यहोरेको छ । गत बर्ष यस्तो व्यापारघाटा २१ अर्ब ३२ करोड ९४ लाख १७ हजार रहेकोमा चालु आवमा २२ अर्ब २४ करोड १७ लाख १७ हजार पुगेको छ । नेपालले निर्यात बढाए पनि व्यापारघाटा भने घटाउन सकेको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL