काठमाडौं । नेपाल आयाल निगमले ‘ग्याँस बुलेट’ खरिदका लागि उद्योगीलाई सहमति दिएको छ । निगमले ग्याँस उद्योगलाई आफैले बुलेट खरिद गरी ग्याँस आयात गर्न सहमति दिएको हो ।
निगमले ४ सय ५० वटा बुलेट खरिदका लागि सहमति दिएको नेपाल ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । ‘भर्खरै मात्र निगमले बुलेट खरिदका लागि सहमति दिएको छ,’ उनले भने, ‘अव खरिद प्रक्रिया अघि बढाउने छौं ।’
निगमले आवेदन माग गर्दा १ हजार ७९ वटा बुलेट खरिदका लागि आवेदन परेको थियो । त्यतिवेला ग्याँस उद्योग वाहेक अन्य व्यक्तिले पनि बुलेट खरिदका लागि आवेदन दिएका थिए । तर, निगमले उद्योगलाई मात्र बुलेट किन्न सहमति दिएको हो ।
घिमिरेका अनुसार भर्खरै मात्र निगमबाट सहमति प्राप्त भएकाले भन्सार लगायत विभिन्न खालका छुटका लागि पहल भैरहेको छ । ‘ग्याँस बुलेट खरिदका लागि सुविधा लिन अर्थ तथा वाणिज्य मन्त्रालयसँग समन्वय गरिरहेका छौं,’ उनले भने, ‘उनीहरुले सहमति दिएसँगै खरिद प्रक्रिया अघि बढाइने छ ।’ हाल सरकारले उद्योग संचालनका लागि आवश्यक मेशिन आयात गर्दा ४ प्रतिशतमात्र भन्सार शुल्क लिने गरेको र ग्याँस उद्योगले बुलेट खरिदगर्दा पनि सोही अनुरुप सुविधा माग गरिएको घिमिरेले जानकारी दिए ।
हाल संचालनमा रहेका ५३ वटै ग्याँस उद्योगलाई बुलेट किन्नका लागि सहमति दिइएको निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । ‘बुलेट खरिदका लागि केही समय निगमले आवेदन माग गरेको थियो,’ उनले भने, ‘सोही अनुरुप ५३ वटै उद्योगलाई उनीहरुको क्षमता हेरी बुलेट किन्न सहमति दिएका छौं ।’ नाकाबन्दीका समयमा भारतीय बुलेटहरुले सहज रुपमा नेपालमा ग्याँस ल्याउन नमानेपछि निगमले नेपाली कम्नपीलाई नै बुलेट खरिद गर्न दिने प्रक्रिया अघि बढाएको थियो ।
बुलेट भारतबाट खरिद गरिने
ग्याँस उद्योगीहरुले भारतबाट बुलेट खरिद गर्ने भएका छन् । उक्त बुलेट नेपालमा निर्माण गर्न नसकिने भएकाले भारतबाट खरिद गर्न लागिएको घिमिरेले जानकारी दिए । एउटा बुलेट खरिदको लागि सरकारले छुट प्रदान गरेमा न्युनतम ७० लाख रुपैयाँ पर्ने छ । यदि छुट नदिने हो भने प्रति बुलेट १ करोड रुपैयाँसम्म पर्ने छ । बुलेट ल्याउनको लागि भने समय लाग्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।
भारतीय बुलेट विस्थापित
ग्याँस उद्योग आफैले बुलेट खरिद गर्ने भएपछि हाल संचालनमा रहेका भारतीय बुलेटहरु विस्थापित हुने भएका छन् । हाल झण्डै ५ सय भारतीय बुलेटले नेपालमा ग्याँस बोक्ने काम गर्दै आएका छन् । ती बुलेटले नेपालमा ग्याँस आयात गरेवापत भाडामा मात्र वार्षिक साढे ३ अर्व रुपैयाँ लैजाने गरेका छन् । नेपाली कम्पनीले बुलेट संचालनमा ल्याएसँगै भाडा वापत विदेशीले पैसा रोकिनुका साथै दक्ष र अर्धदक्ष गरी १ हजारभन्दा बढी कर्मचारीले रोजगारी पाउने भएका छन् ।