काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६ अंकले उकालो लागेको छ । साताको पहिलो दिन सोमबार उच्च अंकले घटेको सेयर बजार मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएपछि उकालो लागेर १६ दशमलव ३२ अंकले बढेको हो ।
आज दिनभर भएको कारोबारमा २ सय २४ कम्पनीका ३१ लाख ७ सय ३० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५ सय ४२ रुपैयाँ पुगेको हो ।
बजारमा आज व्यापार र म्युचुअल फण्ड समुहको परिसुचक सामान्य अंकले ओरालो लाग्दा अन्य ११ समुहको परिसुचकमा हरियाली छाएको छ । आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा बढी वृद्धि जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । जीवन बीमा समुहको परिसुचक आज ७६ अंकले उकालो लाग्दा उत्पादनमुलक क्षेत्रको परिसुचक ६० अंकले उकालो लागेको छ ।
यता विकास बैंक समुहको परिसुचक मंगलबार ५३ अंकले उकालो लाग्दा जलविद्युत समुहको परिसुचकमा ५१ अंकको वृद्धि देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक आज करिव ६ अंकले उकालो लाग्दा लघुवीत्त, वित्त र अतिरिक्त समुहको परिसुचक क्रमशः २५, २८ र ११ अंकले बढेका छन् ।
आज कर्पाेरेट विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।