काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ४४ दशमलव १६ अंकले उकालो लागेको छ । बिहानैदेखि उकालो लागिरहेको बजारमा आज दोहोरो अंकको वृद्धि हुँदा नेप्से विन्दु २३ सय १३ मा पुगेको छ ।
आज कारोबार समयभर २ सय २६ कम्पनीका ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
आज बजारमा कारोबार भएकामध्ये ६ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढिले वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले उकालो लागेको छ । जसमा वरुण जलविद्युत, ङादी जलविद्युत कम्पनी र जालपा सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यता युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी जलविद्युत कम्पनी र नेशनल जलविद्युत कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेको देखिन्छ ।
समुहगत कारोबार हेर्दा आज सबैभन्दा बढी वृद्धि बीमा समुहमा देखिन्छ । मंगलबार जीवन बीमा समुहको परिसुचक २३६ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक १२४ अंकले उकालो लागेको छ । यस्तै आज विकास बैंक समुहको परिसुचक १०३, लघुवित्तको ८६, उत्पादनमुलकको ६२ र होटल तथा पर्यटन समुहको परिसुचक ३६ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज २२ अंकको वृद्धि देखिन्छ ।
आज ङादी जलविद्युत कम्पनीको मात्रै ९ करोड ९८ लाख ३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै दोस्रोमा अरुण भ्याली जलविद्युत कम्पनीले ४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । आज ङादी जलविद्युत कम्पनीका १ लाख ६२ हजार कित्ता सेयर किनबेच हुँदा अरुण भ्यालीका १ लाख २ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।