Logo

यस्तो छ टेलिकम सुधारको २ महिने कार्ययोजना

यस्तो छ टेलिकम सुधारको २ महिने कार्ययोजना


रामराजा श्रेष्ठ
54
Shares

काठमाडौं । नेपाल टेलिकमले गुणस्तर सुधार सम्बन्धी २ महिने कार्ययोजना तयार गरेको छ । टेलिकमको वार्षिकोत्सवमा सुचना तथा संचार मन्त्री शेरधन राइले तत्काल गुणस्तर सुधार गर्न दिर्नेशन दिएसँगै टेलिकमले यस्तो योजना अघि सारेको हो । टेलिकमका सम्पूर्ण सेवालाई चैत मसान्तभित्रै सुधार गर्ने गरी योजना तयार गरिएको नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । ‘टेलिकमले प्रदान गर्दै आएको सम्पूर्ण सेवालाई २ महिना भित्र कसरी सुधार गर्ने भन्ने विषयमा कार्ययोजना नै बनाएर मन्त्रालयलाई बुझाइसकेका छौं,’ उनले भने, ‘सोही अनुरुप टेलिकमले आफ्ना सेवाहरुमा सुधार ल्याउने छ ।’

टेलिकमले तत्कालिन सुधार योजनामा भुकम्पपछिको पुर्नस्थापना, ट्रान्समिसन लाइन अपग्रेड, बिटिएस टावर विस्तार, थ्रीजीको टावर विस्तार, टावरमा पावर सप्लाईजस्ता विषयलाई उच्च प्राथमिकतामा राखेको प्रवन्ध निर्देशक आचार्य बताउँछन् । हाल ४० वटा बिटिएस टावरको अपग्रेड गरिसकेको र केही समयभित्रै अन्य टावरको पनि अपग्रेड गरिने भएको छ । सो कार्य गर्न आगामी २ महिनासम्म साप्ताहिक कार्यतालिका बनाएर काम गरिरहेको समेत उनले जानकारी दिए ।

२ महिनाभित्रै सम्पूर्ण समस्या समाधान हुने

टेलिकमले आगामी २ महिनाभित्रै आफुले प्रदान गर्दै आएको सेवामा देखिएको सम्पूर्ण समस्या समाधान गर्ने भएको छ । विशेषगरी उपत्यका भित्रका ग्राहकले चैत मसान्त मित्रै सम्पूर्ण सेवामा सुधार पाउने आचार्यको दावी छ । ‘टेलिकमको सेवामा पछिल्लो १ हप्तामै धेरै सुधार आइसकेको छ,’ उनले भने, ‘आगामी २ महिनाभित्र फोन नलाग्ने, रिचार्ज नहुने, इन्टरनेट स्लोहुने, विलिङलगायत कुनै पनि समस्या भोग्नु पर्देन ।’

nepal-telecom

पुराना व्याट्रि हटाईदै

टावर संचालनका लागि राखेको व्याकअपले काम गर्न छाडेपछि टेलिकमले त्यसलाई परिवर्तन गर्ने भएको छ । हाल पुराना व्याकअपलाई हटाएर प्रायःजसो स्थानमा नयाँ राख्ने काम भइरहेको छ । व्याकअपले काम नगर्दा नेटवर्कले काम नगर्ने हुँदा पुराना व्याकअपलाई विस्थापित नै गरिएको छ । तर, बजारमा सहज रुपमा व्याट्रि किन्न नपाउँदा केही समस्या भएको टेलिकमले जानकारी दिएको छ ।

काठमाडौंमा ७७ वटा थ्रीजी टावर थप

थ्रीजीको नेटवर्कलाई चुस्त बनाउन काठमाडौं उपत्यकामा थप ७७ वटा टावर थपिने भएको छ । हाल ६० स्थानमा थप्नका लागि प्रक्रिया अघि बढी सकेको र अन्य स्थानमा पनि तत्काल अघि बढाइने भएको छ । सो कार्यलाई पनि २ महिनाभित्रै सक्ने लक्ष्य लिएको प्रवन्ध निर्देशक आचार्य बताउँछन् । सो टावर स्थापनासँगै उपत्यकाभित्र थ्रीजीमा समस्या आउने छैन । हाल उपत्यका भित्र त्यस्ता टावर ४ सय ४३ भन्दा बढी रहेको छ ।

हप्ताको २ दिन अप्टिमाइजेशन(अधिकतम क्षमता विस्तार)को काम

टेलिकमले हप्ताको २ दिन अप्टिमाइजेशनको काम गर्दै आएको छ । उपभोक्तालाई अधिकतम सेवा प्रदानको लागि क्षमता विस्तार गरिरहको छ । सो कार्यका लागि टेलिफोन लाइन नै बन्द गर्नु पर्ने भएकाले रातीको समयमा हप्ताको २ दिनमात्र काम भइरहेको छ । सो कार्यका लागि मुख्य सिस्टमै चल्नु पर्ने भएकाले रातको समयमा ग्राहकलाई समस्या नपर्नेगरी काम गरिरहेको आचार्यले जानकारी दिए ।

लोडसेडिङले गर्दा समस्या बढ्यो

पछिल्लो समयको बढ्दो लोडलेडिङका कारण नेटवर्कमा ठूलो समस्या आएको आचार्य बताउँछन् । भनेको समयमा टेनवर्क नदिनु तथा फोन सम्पर्क नहुनमा ९० प्रतिशतभन्दा बढी समस्या लोडसेडिङले ल्याएको छ । लोडसेडिङबाट हुने समस्या समाधानका लागि प्रायःजसो स्थानमा सोलार प्लानल राख्न थालिएको एनटीसीले जानकारी दिएको छ । हाल सोलार प्लानल राख्ने कार्य द्वुत गतिमा अघि बढेको र बढी समस्या भएका स्थानमा २ महिना भित्रै राखिने छ ।

प्रतिक्रिया दिनुहोस्