Logo

उन्नत जातको बिउ दिएर धान उत्पादन ३ गुणा बढाउन अर्थमन्त्रीको निर्देशन, अर्वाैंको चामल आयात घटाउने लक्ष्य

उन्नत जातको बिउ दिएर धान उत्पादन ३ गुणा बढाउन अर्थमन्त्रीको निर्देशन, अर्वाैंको चामल आयात घटाउने लक्ष्य



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणिकरणका बिषयमा छलफल भएको थियो ।

सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै बर्षदेखी घटाउनुपर्ने दबाब रहेको बताए । ‘दुई महिनादेखी मैले धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन’ उनले भने । मन्त्री शर्माले नेपालमा सुचिकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहिबार पुनः छलफलमा आउन निर्देशन दिएका छन् ।

‘हामीले उन्नत जातको बिउ प्रयोग गर्याैं भने यसै बर्षदेखी कम्तीमा ३ गुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौं’ उनले भने, ‘मंसिरमा धान काट्दा उत्पादन ३ गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।’ उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदान बापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले बताए ।

‘उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने देखिएको छ’ अर्थमन्त्री शर्माले भने । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए । ‘सरकारले बोलाएर काम दियो भने उनीहरु उत्साहित हुन्छन्’ सचिव मरासिनीले भने ।

छलफलमा कृषि सचिव डा. गोबिन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सुचिकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताए । धानको उत्पादकत्व औषतमा ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको जानकारी दिदै उन्नत जातको बिउ बितरण गरे उत्पादनमा धेरै सुधार हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL