काठमाडौं । इन्टरनेट तथा केबल सेवाप्रदायकलाई पोलभाडा बुझाउन नेपाल विद्युत प्राधिकरणले पुनः ताकेता गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै विद्युत पोलमा टाँगिएका अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको बिजुलीको लाइन नै काटिदिने चेतावनीसहित पुनः ताकेता गरेको हो ।
केही सेवाप्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवाप्रदायकहरूले सम्झौता नै नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको प्राधिकरणको भनाई छ ।
इन्टरनेट र केबल सेवाप्रदायक कम्पनीहरुले २०७९ वैशाख मसान्तभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न र हालसम्म बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
यस्तै नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न पनि प्राधिकरणले निर्देशन दिएको छ । सोही नियमानुसार सम्झौता नगर्ने सेवाप्रदायक संस्थाहरूको सम्बन्धित क्षेत्रको कार्यालयको विद्युत लाइन नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली अनुसार जुनसुकै समयमा काट्न सकिने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवाप्रदायक संस्था नै हुने प्राधिकरणले जानकारी दिएको छ ।
विद्युत प्राधिकरणले एकतर्फी रुपमा चर्को पोल भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरू त्यसको विरोध गरिरहेका छन् । वृद्धि गरिएको पोलभाडा फिर्ता लिनुपर्ने र अन्यथा आफूहरूले समेत इन्टरनेटको शुल्क बढाउन पाउनुपर्ने माग इन्टरनेट सेवप्रदायकहरूको छ ।