Logo

तिनकुनेमा यस्तो बन्दै छ शान्ति मण्डला, हेर्नुहोस तस्विर

तिनकुनेमा यस्तो बन्दै छ शान्ति मण्डला, हेर्नुहोस तस्विर


रक्षा रेग्मी
108
Shares

काठमाडौं । तिनकुनेमा काठमाडौं महानगरपालिकाले  बनाउन लागेको अत्याधुनिक शान्ति मण्डलाको प्रक्रिया अघि बढाएको छ ।

तिनकुने शान्ति मण्डलाको नक्सांकन सकिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘नक्सांकन हालै सहियो थप प्रक्रिया अगाडी बढाउँदै छौं’ उनले भने ।

काठमाडौं महानगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ बुद्धको विशाल मूर्तिसहितको मण्डला निर्माण गर्न लागेको हो ।

महानगरपालिकाले मण्डलाकोे आर्किटेक्ट डिजाइन एसोसिएसनको सहकार्यमा नक्सांकनको काम गरेको बताइएको छ । सो संरचना तिनकुनेको ५० रोपनी जग्गामा तयार गर्न लागिएको हो ।

कार्कीका अनुसार तिनकुने शान्ति मण्डला आगामी पाँच बर्षभित्र बनाइसक्ने योजना अनुरुप प्रक्रिया शुरु गरिएको छ । ‘मन्त्रालयले प्रस्ताव स्वीकृत गरेलगत्तै अत्याधुनिक मण्डला निर्माण कार्य शुरु गर्ने छौं’ उनले भने । सो मण्डल निर्माणको प्रस्ताव संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रस्ताव स्वीकृत गर्नुपर्छ । तिनकुनेमा बन्ने भनिएको सो मण्डला संसारकै आकर्षक स्थल बन्ने विश्वास महानगरको छ ।

shanti mandalaहिन्दू र बौद्ध धर्मलाई ‘फ्युजन’ गरी यस्तो बन्दैछ मण्डला

सो शान्ति मण्डलाको बिचभागमा बुद्धको विशाल मूर्ति हुनेछ । महानगरपालिकाका अनुसार सो मण्डलाको संरचना मण्डला हिन्दू र बौद्ध धर्मलाई ‘फ्युजन’ गरी तयार गरिनेछ ।

त्यस्तै संरचनाको बीच भागमा १ सय ८ मिटर लम्बाइ र ५४ फिट अग्लो ‘डोम’ निर्माण हुनेछ । डोम तीन तलाको हुनेछ । सो डोमको सबैभन्दा तल्लो तला पार्किङका लागि प्रयोग गरिने छ । पार्किङमा एकैपटकमा ३ सय कार र २ सय ५० मोटरसाइकल पार्क गर्न सकिनेछ ।

shanti mandalaa

डोमको दोस्रो तलामा अत्याधुनिक ‘क्युरेटर सप’ निर्माण गरिने बताइएको छ । क्युरेटर सपमा पर्यटकहरुले आफुले चाहेजती सामग्री खरिद गर्न सक्नेछन् । त्यस्तै माथिल्लो तलामा ध्यान गर्नका लागि ‘मेडिटेसन’ हल निर्माण गरिनेछ । जहाँ एकपटकमा ३ सयजनाले ध्यान गर्न सक्नेछन् ।

 

सवैभन्दा माथिल्लो भागमा ५४ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिनेछ ।

मण्डलाको प्रत्येक कुनामा हिन्दूधर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति राखिनेछ । त्यस्तै मूर्तीको वरिपरि रूख–विरुवा रोपिने बताइएको छ ।

संरचनाको तीनवटै कोणमा २४ सै घन्टा पानी आउने फाउन्टेन समेत निर्माणको योजना छ ।

shanti mandala

प्रतिक्रिया दिनुहोस्