Logo

माथिल्लो तामाकोसी संचालमा आउन अझै २ वर्ष लाग्ने, किन भयो ढिलाई ?

माथिल्लो तामाकोसी संचालमा आउन अझै २ वर्ष लाग्ने, किन भयो ढिलाई ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्यमा ढिलाई हुने भएको छ । भुकम्प तथा नाकाबन्दीले निर्माण कार्य रोकिदा ४ सय ५६ मेगावाटको सो आयोजना करिव २ बर्ष पछि सर्ने निश्चित भएको हो ।

नाकाबन्दी खुलेपनि आयोजना निर्माणको काम शुरु हुन नसकेको आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । ‘नाकाबन्दी खुलेसँगै चीनीयाँ कन्ट्रयाक्टर क्याम्पको पूर्ननिमार्णतर्फ लागेका छन्,’ उनले भने, ‘मजदूरहरु नआएकाले आयोजना निर्माणको काम अघि बढेको छैन ।’ साथै, आयोजना निर्माण कार्य शुरु हुन अझै १ महिना लाग्ने उनले जानकारी दिए ।

आयोजना विकास सम्झौता (पीडीए)को आधारमा २०१६ को डिसेम्वरदेखि विद्युत उत्पादन शुरु गर्ने भनिएको थियो । तर, विभिन्न कारणले गर्दा २०१७ को डिसेम्वरबाट मात्र विद्युत उत्पादन हुने न्यौपानेले जानकारी दिए ।

आयोजनाको निर्माण कार्य ७२ प्रतिशत भन्दा बढी सम्पन्न भएपनि नाकाबन्दी तथा भुकम्पले गर्दा ढिलाइ भएको हो । आयोजना निर्माणका लागि ३५ अर्ब २९ करोड लागत लाग्ने भनेपनि सम्पन्न हुँदासम्म सो लागत बढ्ने उनले जानकारी दिए । डलरको भाउ बढेकोले पनि आयोजना निर्माणको लागत बढ्ने निश्चित भएको न्यौपाने बताउँछन् । ‘लागतको अनुमान गर्दा डलरको भाउ ८० रुपैयाँ थियो, अहिले बढेर १ सय १० पुगेको छ,’ उनले भने ‘सिमेन्ट, रोडालगायतको मूल्य पनि बढी पर्ने हुँदा स्वभाविक रुपमा आयोजनाको लागत बढी हुन्छ ।’ त्यस्तै समय लम्विदै जाँदा लागत पनि बढ्दै जाने उनले जानकारी दिए ।

वनले स्वीकृति नदिँदा प्रसारण लाइन निर्माण रोकियो

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा वन तथा भूसंरक्षण मन्त्रालयले स्वीकृति नदिँदा समस्या भएको छ । कुल १ सय २७ वटा टावर निर्माण गर्नुपर्नेमा ४८ वटा टावरको प्रारम्भिक काम सुरु भइसकेको छ । केही टावरको निर्माण कार्य सम्पन्न भएपनि बनले स्वीकृति नदिँदा केहीको भने काम नै शुरु हुन नसकेको प्रवक्ता न्यौपानेले बताए । ‘टावर निर्माणको लागि मन्त्रीपरिषद्ले स्वीकृति दियो तर बनले दिएन,’ उनले भने ।

उनका अनुसार तामाकोसी–सिङ्गटी प्रसारण लाइन निर्माणको चरणमा रहेको छ । वन मन्त्रालयले आवश्यक निर्णय नगरिदिँदा प्रसारण लाईन निर्माण कार्य पनि रोकिएको न्यौपानेले जानकारी दिए । आयोजनाले सम्पूर्ण प्रक्रिया पूरा गरेपनि वनले स्वीकृति नदिएकै कारण काम अघि नबढेको उनी बताउँछन् ।
आयोजनाको चरण–४ अन्तर्गत पर्ने विद्युत् प्रसारणका लागि २२०\१३२ केभीको प्रसारणलाइन भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले निर्माण कार्य शुरु गरेको थियो । केइसीले गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लम्बाइमध्ये पहिलो चरणमा करीब १० किलो मिटर प्रसारणलाइनको निर्माण शुरु गरिसकेको थियो ।

३ अर्बको बीमा दावी

भुकम्पले क्षति पुर्याएको भन्दै आयोजनाले ३ अर्ब रुपैयाँभन्दा बढीको बीमा दावी गरेको छ । गत बैंशाखमा गएको भुकम्प र त्यसपछिका पराकम्पनले निर्माणाधिन आयोजनामा क्षति पुर्याएको थियो । हाल ठेकेदार कम्पनीले सम्बद्ध बीमा कम्पनीमा भुक्तानीको लागि दावी गरेको न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL